महोत्तरी – मिथिलाञ्चलसहित तराई–मधेशका विभिन्न जिल्लामा आइतबार हर्षोल्लासपूर्वक छठ पर्व मनाइएको छ। लोकआस्थाको महापर्वका रूपमा परिचित छठ पर्वको मुख्य दिन आज व्रतालु तथा श्रद्धालु भक्तजनले साँझ अस्ताउँदो सूर्यलाई अर्घ अर्पण गरी पूजा–आराधना गरेका छन्।
तराईका महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, मोरङ र सुनसरीलगायत मिथिलाञ्चलका विभिन्न जिल्लासहित देशभरका नदी, पोखरी, तलाउ तथा जलाशयका घाटमा छठ पर्वको रौनक देखिएको थियो। बिहानैदेखि पूजासामग्रीसहित घाट पुग्ने व्रतालु तथा श्रद्धालु भक्तजनको चहलपहल बढेको थियो। साँझपख विभिन्न घाटमा भेला भएका भक्तजनले विधिपूर्वक पूजा–आराधना गरी अस्ताउँदो सूर्यलाई अर्घ अर्पण गरेका थिए।



सन्तान प्राप्ति, सन्तानको दीर्घायु तथा पारिवारिक सुख, शान्ति र समृद्धिको कामना गर्दै श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्वका अवसरमा महोत्तरीको औरही नगरपालिकाका विभिन्न पोखरी तथा जलाशयमा निर्माण गरिएका घाटमा पनि भक्तजनको उल्लेख्य उपस्थिति रहेको थियो। व्रतालुहरूले ठकुवा, भुसुवा, फलफूल, नरिवल, उखु, केरा लगायतका पूजासामग्री बाँसका सामग्रीमा सजाएर घाटमा पुर्याएका थिए।
चार दिनसम्म विभिन्न विधि र परम्पराअनुसार मनाइने छठ पर्वको पहिलो दिन व्रतालुहरूले नुहाएर चोखो भई अरबा–अरबाइन भोजन गर्ने परम्परा छ। दोस्रो दिन साँझ चामल, सक्खर र दूधबाट तयार पारिएको खीर प्रसादका रूपमा ग्रहण गरी खरना विधि सम्पन्न गरिन्छ। खरना सम्पन्न गरेपछि व्रतालुहरू निराहार व्रत सुरु गर्छन्।पर्वको तेस्रो दिन अर्थात् आज व्रतालुहरूले दिनभरि छठको प्रसाद तथा पूजासामग्री तयार गरी साँझ नदी, पोखरी तथा जलाशयका घाटमा पुगेर अस्ताउँदो सूर्यलाई अर्घ अर्पण गर्ने गर्छन्। पर्वको अन्तिम दिन भोलि सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ अर्पण गरेपछि छठ पर्वको विधिवत् समापन हुनेछ। बिहानको अर्घपछि व्रतालुहरूले प्रसाद ग्रहण गरी व्रत तोड्ने परम्परा रहेको छ।
सूर्यदेव र छठी माताको उपासना गरिने यस पर्वमा शुद्धता, पवित्रता र निष्ठालाई विशेष महत्त्व दिइन्छ। धार्मिक मान्यताअनुसार छठ पर्वमा श्रद्धापूर्वक पूजा–आराधना गरेमा सन्तानको कल्याण, पारिवारिक सुख, शान्ति र समृद्धि प्राप्त हुने विश्वास रहिआएको छ।
प्रकृति र सूर्यप्रतिको सम्मान तथा लोकआस्थासँग जोडिएको छठ पर्वले तराई–मधेशका गाउँदेखि सहरसम्म धार्मिक, सांस्कृतिक र सामाजिक सद्भावको सन्देश प्रवाह गर्दै आएको छ। पर्वका अवसरमा विभिन्न छठघाटको सरसफाइ, सजावट तथा व्यवस्थापनमा स्थानीयवासी, युवा क्लब र सामाजिक सङ्घसंस्थाहरू सक्रिय भएका थिए।
फोटो फिचर : धर्वेन्द्र कुमार यादव ”यदुवन्शी”शिरीष न्युजकर्मी,महोत्तरी/ ।


























