आशिक हुसैन शेख
दोहा, कतार । विजयादशमी, दीपावली तथा छठ पर्वको अवसर पारेर दलित एकता सञ्जाल नेपाल, कतारको आयोजनामा शुभकामना आदानप्रदान तथा देउसी–भैलो कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
विश्वकर्मा समाज कतार र परियार मित्रता समाज कतारको सहकार्य तथा सांस्कृतिक विभागको संयोजनमा शुक्रबार (नोभेम्बर १३) कतारको एसियन टाउनस्थित लालिगुराँस रेस्टुरेन्टमा कार्यक्रम आयोजना गरिएको हो।



गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् कतारका अध्यक्ष कृष्ण पन्थीको प्रमुख आतिथ्य तथा दलित एकता सञ्जाल नेपाल, कतारका अध्यक्ष प्रकाश विश्वकर्माको सभापतित्वमा सम्पन्न कार्यक्रममा कतारमा क्रियाशील विभिन्न नेपाली सङ्घसंस्थाका अध्यक्ष तथा प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, कलाकार, पत्रकार र नेपाली समुदायका सदस्यहरूको सहभागिता रहेको थियो।
कार्यक्रमको सुरुवात परियार मित्रता समाज कतारका अध्यक्ष सुमन नेपालले स्वागत मन्तव्य राख्दै गर्नुभएको थियो। उहाँले प्रमुख अतिथि, अतिथिगण, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि तथा उपस्थित सम्पूर्ण नेपाली समुदायलाई स्वागत गर्नुभएको थियो। कार्यक्रम सञ्चालन दलित एकता सञ्जाल नेपाल, कतारका महासचिव अमृत विश्वकर्माले गर्नुभएको थियो।
कार्यक्रमको प्रारम्भमा राष्ट्रिय गान प्रस्तुत गरिएको थियो। त्यसपछि मकवानपुरको भीमफेदी गाउँपालिका–६, चिसापानीगढीमा भएको यात्रुवाहक भ्यान दुर्घटनामा परी १४ जनाको ज्यान गएको घटनाप्रति दुःख व्यक्त गर्दै मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण तथा शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरिएको थियो। सो अवसरमा एक मिनेट मौनधारणसमेत गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि पन्थीले तीनवटा संस्थाले सहकार्य गरेर संयुक्त रूपमा कार्यक्रम आयोजना गर्नु प्रशंसनीय कार्य भएको बताउनुभयो। कतारमा रहेका विभिन्न जातजाति, समुदाय, सङ्घसंस्था, राजनीतिक दलका प्रतिनिधि, कलाकार तथा पत्रकारको सहभागिताले नेपाली समुदायबीच आपसी एकता, सद्भाव र भाइचारा थप मजबुत बनाउने उहाँको भनाइ थियो।
विदेशमा रहेर पनि नेपाली मौलिक भाषा, कला, संस्कृति र परम्पराको संरक्षण गर्नु सबै नेपालीको साझा जिम्मेवारी भएको उल्लेख गर्दै उहाँले विभिन्न सङ्घसंस्थाबीच सहकार्य र समन्वय गरेर कार्यक्रम आयोजना गर्दा समय तथा स्रोतसाधनको सदुपयोग हुनुका साथै आपसी सम्बन्धसमेत प्रगाढ हुने बताउनुभयो।
सांस्कृतिक कार्यक्रम मनोरञ्जनको माध्यम मात्र नभई नयाँ पुस्तालाई आफ्नो मौलिक संस्कृति र पहिचानसँग जोड्ने महत्वपूर्ण अवसरसमेत भएको उहाँले उल्लेख गर्नुभयो। आगामी दिनमा पनि नेपाली सङ्घसंस्थाबीच यस्तै सहकार्य र एकताको वातावरण कायम राख्नुपर्नेमा उहाँले जोड दिनुभयो।
कार्यक्रममा विश्वकर्मा समाज कतारका अध्यक्ष दीपक विश्वकर्मालगायत विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। देउसी–भैलो प्रस्तुतिसहित आयोजित कार्यक्रममा नेपाली मौलिक कला, संस्कृति, परम्परा र चाडपर्वको महत्वलाई प्राथमिकता दिइएको थियो।
समापन मन्तव्यका क्रममा सभापति तथा दलित एकता सञ्जाल नेपाल, कतारका अध्यक्ष प्रकाश विश्वकर्माले कार्यक्रममा सहभागी प्रमुख अतिथि, अतिथिगण, विभिन्न सङ्घसंस्थाका अध्यक्ष तथा प्रतिनिधि, समाजसेवी, पत्रकार, कलाकार र सहयोगीहरूप्रति आभार व्यक्त गर्नुभयो।
उहाँले तीनवटा संस्थालाई एकै ठाउँमा ल्याएर संयुक्त रूपमा कार्यक्रम आयोजना गर्नु आपसी एकता र सहकार्यको उदाहरण भएको बताउनुभयो। एकता भाषणमा मात्र सीमित नभई सोच र व्यवहारमा समेत देखिनुपर्ने उल्लेख गर्दै उहाँले समुदायभित्र रहेका विभेद, असमानता र आपसी दूरी हटाउन सबै एकजुट हुनुपर्ने धारणा व्यक्त गर्नुभयो।
समाजमा वास्तविक परिवर्तन ल्याउन सबैभन्दा पहिले आफ्नै सोच र व्यवहारमा परिवर्तन आवश्यक रहेको उहाँको भनाइ थियो। आपसी एकता, सहकार्य र सकारात्मक सोचका माध्यमबाट मात्रै समुदायको अधिकार, पहिचान र सामाजिक सम्मानलाई बलियो बनाउन सकिने उहाँले बताउनुभयो।
अध्यक्ष विश्वकर्माले कार्यक्रम सफल बनाउन बिहानदेखि अन्तिम समयसम्म खटिने सांस्कृतिक विभागका संयोजक, कार्यसमिति सदस्य, स्वयंसेवक तथा सम्पूर्ण सहयोगीप्रति धन्यवाद व्यक्त गर्नुभयो।
कार्यक्रममा दलित समुदायबीच आपसी एकता कायम गर्दै जातीय विभेद, छुवाछुत तथा सामाजिक असमानताको अन्त्य गरी समानतामूलक समाज निर्माण गर्नुपर्ने सन्देश प्रवाह गरिएको थियो।
‘दलितहरूको एकता, छुवाछुतमुक्त समाज निर्माणमा सम्पूर्ण नेपालीहरूको सहभागिता’ भन्ने मूल नाराका साथ आयोजित कार्यक्रमले कतारमा रहेका नेपाली समुदायबीच सामाजिक एकता, आपसी सद्भाव र सांस्कृतिक पहिचानलाई थप सुदृढ बनाउने विश्वास आयोजकले व्यक्त गरेका छन्।
नेपाली मौलिक संस्कृति, सामाजिक एकता, सहकार्य र आपसी सद्भावको सन्देश प्रवाह गर्दै कार्यक्रम समापन गरिएको थियो।




