जनकपुरधाम – स्थानीय तहको निर्वाचनमा जनकपुरधाम उपमहानगरपालिकाका लागि मेयर पदका स्वतन्त्र उम्मेदवार जानकीराम साहले आफ्नो पाँच वर्षे योजना सहितको प्रतिबद्धता-पत्र सार्वजनिक गरेका छन् । लोसपाबाट मेयरमा सिफारिस भएपनि एमालेबाट मेयरको उम्मेदवार बन्ने आशमा एमालेमा प्रवेश गरेका साहले टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका छन् । उनि तत्कालिन राजपाबाट वडा अध्यक्षमा निर्वाचित थिए । एमालेबाट टिकट नपाएपछि पार्टी प्रवेश गरेको एक हप्ता मै पार्टी परित्यागको घोषणा गरेर स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।
बिहीबार पत्रकार सम्मेलनको आयोजन गरी स्वतन्त्र उम्मेदवार साहले ११ बुँदे प्रतिबद्धता-पत्र सार्वजनिक गरेका हुन् । साहले सार्वजनिक गरेका प्रतिबद्धतामा नगरमा भित्रका सबै शैक्षिक संस्थासँग समन्वय गरेर विशेष गुण स्तरिय शैक्षिक योजना बनाइने र असहाय र गरिब विद्यार्थीका लागि विशेष छात्रवृति योजना ल्याउने, गरिबलाई स्नातक उत्तीणर् गरेपछि रोजगारी सुनिश्चित गर्न जनकपुरधाम उपमहानगरपालिकाले विशेष कार्यक्रम ल्याउने, अवकाशप्राप्त ज्येष्ठ नागरिक र महिलाका लागि निःशुल्क अध्ययन स्थलको रुपमा ५ वर्षभित्र प्रत्येक वडामा सार्वजनिक पुस्तकालयको स्थापना गर्ने, शैक्षिक संस्थाको मातहतमा रहेका सम्पतिको सूचीकरण गरी वार्षिक विवरण प्रकाशन गरिने, शिक्षकको वार्षिक विवरण तयार गरेर सबैको भूमिका र योगदानको उचित सम्मान गर्ने लगायत बुँदा समावेश गरेका छन् ।



त्यस्तै, नगरका सबै नागरिकलाई स्वास्थ्य बिमा, आवश्यक स्वास्थ्य सेवाको लागि हरेक टोलमा युवा र महिलालाई समावेश गराएर स्वास्थ्य स्वयमसेवक परिचालन गर्ने, नगरमा बेरोजगार महिलाको समूह बनाएर स्वास्थ्य र स्वच्छ समाजको लागि तालिम प्राप्त अभियन्ता बनाइने, मधुमेह र बाथ रोगका रोगीलाई निःशुल्क औषधि वितरण गरिने योजना साहले आफ्नो प्रतिबद्धता-पत्रमा समावेश गरेका छन् ।
नगरका आवश्यक स्थानमा सिसिटिभी क्यामेरा जडान गरिने, मठ, मन्दिर, मस्जिद र धर्मशाला क्षेत्रमा अनिवार्य रूपमा विशेष सुरक्षा योजना ल्याइने, आफू निर्वाचित भएको ६ महिनाभित्र डम्पिङ साइटको व्यवस्था गर्ने, नियमित फोहोर संकलन तथा व्यवस्थापन, ढल निकास, फोहोर संकलनको व्यवस्थित तरिका र बोट, बोट बिरुवा रोप्ने काम गर्नुका साथै सांस्कृतिक क्षेत्र मठमन्दिर, मस्जिद क्षेत्रको सरसफाइमा विशेष ध्यान दिने, सहरभित्रको पोखरी सफाइका लागि पोखरी व्यवस्थापन समितिको स्थापना गरेर सबैको सफाइको लागि बजेट छुट्टयाउने, नगरको २५ वटै वडामा सफाइ अभियान सञ्चालन गरेर वार्षिक प्रतिस्पर्धा गरिने, अवकाशप्राप्त नागरिकलाई सफाइ अभियानी बनाएर जिम्मेवारी दिई अवकाशप्राप्तका लागि आम्दानीको बाटो पनि बनाउनुका साथै फोहोरलाई मोहोरमा बदल्ने अभियान सञ्चालन गरिने योजना चुनावी प्रतिबद्धतामा उल्लेख छ ।




