नेपाल प्रहरीको एआईजीमा बढुवा सिफारिस भएकी डीआईजी पूजा सिंह जनपदबाट एआईजी बन्ने पहिलो महिला अधिकारी हुने भएकी छन् ।
धनुषाको वटेश्वर गाउँपालिका ५ शान्तिपुर निवासी सिंह ११ चैत २०४९ मा प्रहरी निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गरेकी उनी हालका आईजीपी धीरजप्रताप सिंहको ब्याची हुन् ।



सोमबार गृह मन्त्रालयको बढुवा समितिको सचिवालयले सिंहसहित ५ जना डीआईजीलाई एआईजीमा बढुवा सिफारिस गरेको हो । प्राविधिकतर्फ भने डा. आशा सिंह र दुर्गा थापा एआईजी भइसकेका छन् । यसअघि जनपदतर्फ पार्वती थापा र विमला थापा डीआईजीसम्म भएका थिए ।
सिफारिस भएकाहरुविरुद्ध एक साताभित्र कुनै उजुरी नपरे र समितिको सिफारिसलाई मन्त्रिपरिषद्ले सदर गरे एआईजीमा बढुवा हुनेछन् । प्रजातन्त्र सेनानी केदारप्रसाद सिंहकी आफन्त सिंह मधेश मूलकी हुन् । हाल उनी वाग्मती प्रदेश प्रहरी कार्यालयको नेतृत्व गर्दै आएकी छन् ।
व्यावसायिक प्रहरीको छवि बनाएकी सिंहले प्रहरी उपरीक्षक हुँदा काभ्रे र तत्कालीन पूर्वक्षेत्रीय ट्राफिक प्रहरी कार्यालय सुनसरीको जिम्मेवारी सम्हालेकी थिइन् ।
सिंह प्रहरी निरीक्षकमा महिलातर्फ खुला प्रतिस्पर्धामा पहिलो थिइन् । उनी महिलातर्फ सुडान मिसनमा पनि कमाण्डेडको रूपमा काम गरेकी थिइन् ।
बढुवा सिफारिस हुने अन्य डीआईजीहरु उत्तमराज सुवेदी, अरुणकुमार बिसी, दिवेश लोहनी, मुकुन्द राज आचार्य छन् । डीआईजी सुवेदी हाल काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको प्रमुख छन् । यस्तै, बिसीले १ नम्बर प्रदेश प्रहरी कार्यालय र लोहनीले गण्डकी प्रदेश प्रहरी कार्यालयको नेतृत्व गरिरहेका छन् ।
डीआईजी आचार्य प्रहरी प्रधान कार्यालयस्थित कार्य विभाग, कार्य निर्देशनालयमा कार्यरत छन् ।




