महेन्द्रनगर- क्षीरेश्वनाथ नगरपालिकाका मेयर सुखदेव यादवले विकास निर्माणको काममा सबै जनप्रतिनिधिहरु एक भएर अघि बढ्नु पर्ने बताएका छन् ।
क्षीरेश्वरनाथ उद्योग वाणिज्य संघको आयोजनामा आज आयोजित नव निर्वाचित क्षीरेश्वरनाथ नगरपालिकाका जनप्रतिनिधिहरुको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मेयर यादवले चुनाव लड्दा सबै कुनै न कुनै पार्टीबाट लडेपनि निर्वाचित भई सकेपछि सबै नगरवासीको लागि जनप्रतिनिधि बराबर भएको बताए ।

उनले आफूले कसै संग भेदभाव नगरी समान किसिमले सबै जनताको काम गर्ने र यसको लागि अरु जनप्रतिनिधिहरुलाई पनि साथ दिनको लागि अनुरोध गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै क्षीरेश्वरनाथ नगरपालिकाका उपप्रमुख रचना श्रेष्ठ माथेमाले यस नगरमा उद्योग धन्दाको विकास गरि औद्योगिक नगरको रुपमा पहिचान स्थापित गराउन उद्योगी व्यापारीहरुले आवश्यक प्रकृया अघि बढाउन सुझाव दिइन् ।
उनले जनकपुर पछिको दोश्रो शहरको रुपमा विकासोन्मुख रहेको यस नगरपालिकाबाट उद्योगी व्यापारीहरुलाई गर्नु पर्ने आवश्यक सहयोग लागि आफूहरु सदैव तयार रह्ने बताईन् ।

कार्यक्रममा क्षीरेश्वरनाथ उद्योग वाणिज्य संघका अध्यक्ष सुरेश यादवले वाणिज्य संघको कार्यालय भवन निर्माणको लागि आवश्यक जग्गा उपलब्ध गराई दिनलाई नगरपालिकासंग माग गरे । उनले नगरपालिकाले जग्गा उपलब्ध गराई दिए व्यापारीहरुले आर्थिक सहयोग गरेर भवन निर्माण गर्न आफूहरु तयार रहेको बताए।

कार्यक्रममा नव निर्वाचित मेयर, उपमेयर, सबै वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्यहरुलाई वाणिज्य संघले फूल, माला, अबिर र गम्छा ओढाएर सम्मान गरेका थिए।

वाणिज्य संघका उपाध्यक्ष विनय साहको स्वागतमन्तव्यबाट सुरु भएको सो कार्यक्रममा संघका संस्थापक अध्यक्ष रामजी सिंह, क्षीरेश्वरनाथ धर्म संस्थाका अध्यक्ष ईश्वरी प्रसाद अधिकारी, व्यापारीका प्रतिनिधि ललित साह, वडा अध्यक्षहरुको तर्फबाट क्षीनपा ४ वडाध्यक्ष जगदीश यादव, इप्रका महेन्द्रनगरका इन्चार्ज बेचन यादव लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।






