जनकपुरधाम- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेतृत्वको सरकारकै पालामा विकासको मामिलामा देश द्रुत गतिमा अगाडि बढेको दाबी गरेका छन्।

शनिबार धनुषाको विदेह नगरपालिका स्थित तिनकौरियामा आयोजित पार्टीको जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न जनकपुरधामबाट-महिनाथपुरसम्मको रेलको यात्राको क्रममा उनले आफ्नो देशको रेलमा यात्रा गर्न पाउँदा निकै खुशी लागेको बताए ।
ओलीले रेल चढदै संचारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै आफूले ल्याएको रेल चढ्न पाउने अवसर पाउंदा निकै खुशी भएको बताए।

उनले भने, “आज हाम्रो नेतृत्वको सरकारले नै ल्याएको रेलमा बसेर आरामदायी यात्रा गर्न सकिरहेका छौं । खुसी हुनु स्वभाविक हो । यो अत्यन्तै खुसीको कुरा हो । यो हाम्रै पालामा ल्याएको रेल भएको कारण अझ बढी खुसी छु । यो हाम्रो रेल हो, त्यसैले धेरै खुसी छु ।”

अध्यक्ष ओलीले एमाले सरकार बनेपछि मात्र यस्ता विकासका कुराहरुले देशमा गति लिएको दाबी गरे ।
‘हामीले हुलाकी राजमार्ग बनायौं, कोसी मरिन डाइभर्सन बनायौं,’ उनले भने, “अहिले १ लाख ८५ हजार मधेसको जमिन सिचाईंमा सदूपयोग भइरहेको छ । देशले यो सबै उपलब्धी एमालेकै सरकारको पालामा गरेको हो।”

अध्यक्ष ओलीले सघन सहरी विकास कार्यक्रम, जनकपुर ढल विकास आयोजना लगायतका थुप्रै कार्यक्रमहरु ल्याएर आफूहरु अनेक हिसाबले सफलतासाथ अगाडि बढेको दाबी समेत गरे ।
रेलमा यात्रा गर्ने क्रममा अध्यक्ष ओली तथा एमालेका नेता कार्यकर्ताहरूले एसी बगीको ५६ र जेनरल बगीको ८६ वटा गरी कुल १४२ वटा टिकेट खरिद गरि यात्रा गरेका थिए ।
यात्राको क्रममा झ्यालको सिटमा बसेर अध्यक्ष ओली गाउँघरका दृश्य नियाल्दै पार्टीका नेताहरु रघुवीर महासेठ, जुली महतो र प्रभु साहसँग गफ गर्दै महिनाथपुर स्टेशन पुगेका थिए ।

जनकपुरधाम देखि महिनाथपुरसम्मको यात्राको क्रममा पर्ने गाउँबस्तीका वस्तुस्थिति बारे जानकारी लिंदै अध्यक्ष ओली अब यी ठाउँहरुमा समेत विकास गर्नुपर्छ भनि पार्टी नेताहरुलाई सुझाव दिएका थिए।

पूर्वप्रधानमन्त्री समेत रह्नु भएको ओली लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)का सचेतक उमाशंकर अरगरिया लगायतका नेताहरुलाई एमाले प्रवेश गराउन शनिबार धनुषा आएका हुन् ।


