काठमाडौं । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पनि सरकारमा सहभागी हुने भएको छ ।
नेता केशव झाकाअनुसार लोसपा १ मन्त्रालय लिएर पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा जानेछ । ‘एक मन्त्रालय लिएर सरकारमा जाने पक्का भएको छ,’ उनले भनेका छन् ।



प्रतिनिधि सभामा लोसपासँग ४ सिट छ । उसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिइसकेको छ ।
मन्त्रीका रूपमा शरदसिंह भण्डारी सरकारमा जाने लोसपाका एक नेता बताउँछन् । ‘उहाँ (शरदसिंह भण्डारी) लाई पठाउने सहमति भएको छ पार्टीमा,’ ती नेताले भने, ‘निर्वाचितमध्ये उहाँ सिनियर हुनुहुन्छ । लगभग उहाँ नै हो सरकारमा जाने ।’
भण्डारीबाहेक सर्वेन्द्रनाथ शुक्लाले पनि आकांक्षा देखाएका छन् । तर, पार्टीले भण्डारीलाई नै पठाउने भएको छ ।
प्रधानमन्त्री प्रचण्डले आजै मन्त्रालय भागबन्डा टुङ्ग्याउने बताएका छन् । सरकारको उच्च राजनीतिक संयन्त्र संयोजकसमेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँगको ५ घण्टा लामो छलफलपछि प्रधानमन्त्री प्रचण्ड मन्त्रालयीय भागबन्डा टुङ्ग्याउने गृहकार्यमा जुटेका छन् ।




