जनकपुरधाम- कालीगण्डकी नदीबाट ल्याइएको देव शिला भारतीय पक्षलाई हस्तान्तरण गर्नको लागि जनकपुरधामबाट आज पठाइएको छ।
सो देव शिलाबाट अयोध्यामा निर्माणाधीन राममन्दिरको मुख्य गर्भगृहमा राख्न भगवान रामको बालापन प्रतिमा निर्माण गरिनेछ ।
भारतीय पक्षलाई देव शिला हस्तान्तरण गर्नको लागि जनकपुरधामबाट जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव, नेपाली काँग्रेसका प्रभावशाली नेता तथा पूर्वप्रधानमन्त्री बिमलेन्द्र निधि सम्मिलित टोली अयोध्या प्रस्थान गरेका हुन् ।



जनकपुरधामबाट प्रस्थान गर्नु अघि देव शिलाको जानकी मन्दिरमा पूजा अर्चना गरि सोमबार बिहान शोभायात्रा सहित जनकपुरधाम परिक्रमा गरीएको थियो ।
देव शिला भारतको अयोध्या लगिने क्रममा जनकपुरधाम स्थित जानकी मन्दिरमा विशेष पूजापाठ गरिएको छ । शनिबार अबेर राति जानकी मन्दिरमा ल्याइएको शिलाको आइतवार दिनभर तथा राती महाआरती सहित विशेष पूजापाठ गरिएको छ । देवशिला अयोध्या पुर्याउने क्रममा भारतको ठाउँ ठाउँमा विशेष पूजापाठ गरिने जनाइएको छ । विशेष पूजाकालागि ठाउँ ठाउँमा भव्य तयारी समेत गरिएको छ ।

जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवको अनुसार जनकपुरधामबाट प्रस्थान गरेका देव शिला हस्तान्तरण टोलीको आज सोमवार भारतको मुजफ्फरपुर बास तथा देवशिलाको पूजा अर्चना हुनेछ । टोली भोली मंगलवार गोरखपुर पुगेर बास बस्ने तथा पूजा अर्चना हुने र पर्सी बुधवार अयोध्या पुगेर भारतीय पक्षलाई देवशिला जानकी मन्दिरका महन्थ रामतपेश्वर दासले हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ।
भारतको अयोध्यामा लामो विवादपछि सुप्रिम कोर्टको आदेशमा राममन्दिर निर्माण हुँदैछ । मार्च २०२० देखि निर्माण सुरु भएको मन्दिर आगामी सन् २०२४ जनवरीमा निर्माण गरिसक्ने लक्ष्य रहेकामा त्यसको मुख्य गर्भ गृहमा राखिने भगवानको रामको बालापनका प्रतिमा नेपालको ढुङ्गाबाट निर्माण हुनेछ।
‘विश्वविख्यात अयोध्या नगरीमा बन्ने राममन्दिरमा नेपालको शिलाबाट निर्मित मूर्ति राख्ने कुरा अत्यन्त महत्वपूणर् छ’ महन्थ राम तपेश्वर दासले भने, “यसले नेपाल र भारतको ऐतिहासिक सम्बन्धलाई दर्शाउने मात्रै छैन, विश्वमै नेपालको गाथा पनि विस्तार हुनेछ, जुन हाम्रो लागि सौभाग्यको कुरा हो ।”
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले नेपालको पवित्र नदी (कालीगण्डकी) बाट ल्याइएको शिला अयोध्यामा निर्माण हुने मन्दिरका लागि मूर्ति बनाइनु आफैँमा ऐतिहासिक भएको बताए।
उहाँले भारतमा तमाम नदी र नदीमा ढुङ्गा नभएर नेपालबाट लिइएको नभई नेपालको धार्मिक महत्व र धार्मिक आस्थाका हिसाबले भारतबाट दिइएको उच्च सम्मानको एक अनुपम दृष्टान्त भएको बताए।
नेपालबाट भारतमा शिला पठाउन मुख्य भूमिका निर्वाह गरिरह्नु भएका नेता बिमलेन्द्र निधिले विश्वप्रसिद्ध राम मन्दिरमा नेपालको शिला राख्दा नेपालको धार्मिक महत्व मात्र नभइ ऐतिहासिक र पौराणिक महत्वलाई पनि टेवा पुर्याएको बताए । उनले यस कार्यले नेपालमा धार्मिक पर्यटन वृद्धिका लागि कोशेढुङ्गाको काम गर्ने विश्वास व्यक्त गरे।
अयोध्यामा ७० एकड जमिनमा तीन सय ६० फिट लामो, दुई सय ३५ फिट चौडा र एक सय ६१ फिट अग्लो मन्दिर बन्दैछ । मन्दिरमा पाँच मण्डप रहनेछन् भने बीचमा रहेको गर्भगृहमा कालीगण्डकी नदीबाट लागिएको २३ टन र १५ टनका शिलाबाट बनाइने भगवान् रामको बालापनको मूर्ति राखिने उतराधिकारी महन्थ दासले जानकारी दिए।




