महोत्तरी-जिल्ला प्रहरी कार्यालय महोत्तरीले हिंसामा परेका एक आमा छोरीको उजुरी दर्ता गर्न नमाने आरोप लगाइएको छ।
भंगहानगरपालिका वडा नंं. ४ बस्ने ४० वर्षीया ललिता देवी महतोले आफ्नो श्रीमान्ले दोश्रो विवाह गरेको भनि बहुविवाह र आफू र १८ वर्षीया बालिका छोरी अल्पनाकुमारी महतोलाई कुटपिट गरि हिंसा गरेको कसुरमा गर्न गएको उजुरी जिल्ला प्रहरी कार्यालय महोत्तरीले दर्ता नगर्न नमानेको बताएकी छिन् ।



पीडितहरुले मानव अधिकारको क्षेत्रमा काम गर्ने अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) को महोत्तरी जिल्ला प्रतिनिधिलाई न्यायको लागि पहल गरिदिनु हुन भनि निवेदन दिएर सहयोग समेत माग गरेका छन् ।
पीडित बालिका अल्पना कुमारीका अनुसार जनप्रतिनिधि समेत रहेका बुवा ४२ वर्षीय गणेश प्रसाद महतो (भंगहा नगरपालिका वडा नं. ४ का वडाअध्यक्ष) ले लुकिछिपी कैलालीको धनगढी घरभई हाल काठमाण्डौंमा डेरा गरि बस्ने ४२ वर्षीया सीता क्षेत्रीसंग दोश्रो विवाह गरेर आफूहरु माथि हिंसा गरेको बताइन् ।
उनले दिएकी निवेदन अनुसार जेठ ६-७ गते बुवाले कुनै महिला संग भिडियो कल गरेर कुराकानी गर्दै गरेको सुनेर सोधपुछ गर्दा तिम्रो आमा र भाई हो भनेपछि आफूले खोजिनिति गरेको थिए। अल्पनाले भनिन्, “जेठ ९ गते राती ९ बजे तिर तैले मेरो खोजीनीति गर्ने भनेर आमालाई कुटपिट गर्न खोज्दा आमा कोठाभित्र पसेर चुकुल लगाउनु भएपछि बुबाले मलाई निर्घात कुटपिट गर्नुभयो ।”
कुटपिटको कारण अल्पनाको जिउभरि निलडाम र चोटपटक लागेको फोटोहरुबाट देखिएको छ। अल्पनाको चिउँडो र गालामा निलडाम देखिएको छ भने कुटपिटपछि लालगढ मोडल अस्पतालमा उपचार भएको उनले बताएकी छिन्।
अल्पनाले समाजिक संजाल टिकटक मार्फत आफू र आफ्नो आमा माथि बुवाले गरेको हिंसा बारे पोष्ट समेत गरेकीछिन् । आफ्ना बुबाले महिलाहरूसँग अनैतिक सम्बन्ध राखेको, ममीलाई झुक्याएर अर्कै घरजमसमेत गरेको उनले भिडियोमा बताएकी छिन्। उनले टिकटक मार्फत न्यायको पहल गरिदिनु हुन समेत सबैलाई आग्रह गरेकि छिन् ।
‘बुबाको मोबाइलमा अस्वाभाविक हर्कतको विषयमा थाहा पाएपछि सोधेँ । बुबाले उल्टै कुटपिट गर्नुभयो,’ छोरी अल्पनाले भनिन्, ‘घरमा खाना खान कम आउने, ममीको कोठामा नसुत्ने, काली भइस् भन्ने गर्नुहुन्थ्यो।’
अध्यक्ष महतोको घरेलु हिंसा यो नै पहिलो भने होइन । २०६४ सालमा पनि पत्नी ललितालाई निर्घात कुटपिट गरेपछि प्रहरी कार्यालयबाट कागज गरेर मिलापत्र भएको पाइएको छ। कागजमा पत्नी र परिवारका सदस्यहरूलाई कुनै दुःख नदिने प्रतिबद्धता जनाए पनि पुनः घटना दोहोर्याएको स्थानीय बताउँछन्।
अध्यक्ष महतो वडामा निर्वाचित हुनुभन्दा पहिलेदेखि नै अर्की पत्नी रहेको पनि खुलासा भएको छ। तर, कान्छी पत्नी र छोराछोरीको विषयमा उनले गुपचुप बनाएको पत्नी ललितादेवीले बताइन्।
जनप्रतिनिधि बन्नुभन्दा पहिला अध्यक्ष महतो प्रायः बाहिर नै बस्ने गरेको पनि ललिताको भनाइ छ। ‘अहिले श्रीमान् घरमै बसे पनि सम्बन्ध भने श्रीमती-श्रीमानको जस्तो छैन,’ उनले भनिन् ।
पीडित आमा छोरीले सुरुमा इलाका प्रहरी कार्यालय वर्दिवासमा उजुरी दिन गएको बताए। तर वर्दिवासको इलाका अन्तर्गत भंगहा पर्ने जानकारी पाएपछि उनिहरु जिल्ला प्रहरी कार्यालय जलेश्वर पुगेर उजुरी दर्ता गराउन खोज्दा प्रहरीले उजुरी दर्ता नगरेको अल्पनाले गुनासो गरेकीछिन् ।
यस सन्दर्भमा जिप्रका महोत्तरीका प्रवक्ता डिएसपी दिलिपकुमार गिरिले आमा छोरी वहुविवाहको उजुरी लिएर आएको जानकारी दिनुभयो । डिएसपी गिरिको अनुसार आमा छोरीको कुराहरु सुनिसकेपछि आरोपितलाई प्रहरी कार्यालयमा बोलाउन लगाएको र उनिहरु प्रतिक्षालयमा बस्दै गर्नुभनेको थिए । तर जब आरोपित प्रहरी कार्यालय आएसकेपछि तल खोज्न पठाउँदा दुबैजना (आमा छोरी) हिडि सक्नु भएको रहेछ। उनले घटना १४-१५ वर्ष पुरानो भएकोले दुबैपक्षको कुरा नबुझि एकैपटक बहुविवाहको मुद्दा दर्ता गर्न नमिल्ने भएको हुँदा अहिले दर्ता नगरिएको र जाँचबुझ तथा अनुसन्धान गरी मात्र उजुरी दर्ता हुने जानकारी दिए । डिएसपी गिरिले दुबै पक्षलाई झिकाएर छलफल गर्ने प्रयास भइरहेको बताए।
यता पिडित आमा छोरी प्रहरीले मुद्दा दर्ता गर्न नमाने पछि सरकारी वकिलको कार्यालय मार्फत उजुरी दर्ताको तयारीमा जुटेका जुटेका छन् ।
यस घटना बारे छोरी र पत्नीले आरोप लगाएको जस्तो अवस्था नभएको अध्यक्ष महतोको दाबी छ। परिवारका लागि आफूले दायित्व निर्वाह गरिरहेको दाबी गर्दै आरोप लगाउनु नै रहस्यमय भएको महतोको भनाईछ।
अध्यक्ष महतोले भने, “मलाई जनताको काम गर्दा नै फुर्सद छैन। अनि घरमा कता झगडा गरेर बसौँ।”
२०६४ सालमा घरमा सामान्य झगडा पर्दा प्रहरीसमक्ष उक्त विषय पुगेपछि भने आत्मालोचना गरेको अध्यक्ष महतोले स्वीकार गरे। घटनाको पुष्टि भए आफू सजायको भागिदार हुने पनि अध्यक्ष महतोले बताए।
छोरीले सामाजिक सञ्जालबाट बद्नाम गर्न खोजे पनि उनीहरूको उचित हेरचाह गर्न कहिल्यै पछि नपरेको अध्यक्ष महतोले जिकिर गरे।
जनप्रतिनिधिबाटै घरेलु हिंसा




