महोत्तरी – महोत्तरीको महोत्तरी गाउँपालिकाले आफ्नो क्षेत्रभित्र रहेको जग्गाको कित्ताकाट खुलाएको छ ।
गाउँपालिकाले पत्रकार सम्मेलनको आयोजना गर्दै गाउँपालिका क्षेत्रभित्रको ‘भू–उपयोग क्षेत्र वर्गीकरण’ गर्दै कित्ता काट खुलाएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रविण झाले जानकारी दिए ।



भू–उपयोग नियमावली २०७९ को नियम ५ उपनियम (१) ले दिएको अधिकार प्रयोग गरी गाउँपालिकाको स्थानीय भू–उपयोग परिषद्ले आफ्नो क्षेत्राधिकार भित्रको जग्गाको भू–उपयोग क्षेत्र वर्गीकरणको कार्य सम्पन्न गरेको महोत्तरी गाउँपालिका अध्यक्ष दिलिप पाण्डेले पत्रकारहरुबीच सार्वजनिक गर्दे कित्ता काट खुलेको जानकारी दिएका छन् ।
महोत्तरी गाउँपालिकाले आफ्नो क्षेत्राधिकार भित्रको जग्गाहरुलाई कृषि क्षेत्रतर्फ १६५२.३६६ हेक्टर, आवासीय क्षेत्र तर्फ १०१०.२७८, व्यवसायिक क्षेत्रतर्फ १.३६७ हेक्टर, औद्योगिक क्षेत्रतर्फ ०.१२३ हेक्टर, सार्वजनिक क्षेत्र तर्फ ४८.३०१ हेक्टर,साँस्कृतिक तथा पुरातात्विक क्षेत्रतर्फ २.७२८ हेक्टर, नदी खोला तथा सिमसार क्षेत्रतर्फ ९१.४७३ हेक्टर जग्गा वर्गीकरण गरेको छ ।
महोत्तरी गाउँपालिकाले कुल २८०६.६३६ क्षेत्रफल जग्गाको कित्ताकाट खुल्ला भएको जानकारी गराइएको छ । जग्गा वर्गीकरण सार्वजनिकीकरण कार्यक्रममा नापी कार्यालयका प्रमुख राकेश झा लगायत पालिकाका जनप्रतिनिधि, कर्मचारी र संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।
जग्गा कित्ताकाट रोकिएको कारण वर्षौदेखि सास्ती भोग्नुको साथै विभिन्न कामहरु गर्न÷गराउन नपाएका महोत्तरी गाउँपालिका वासीहरुले अब जग्गा सम्बन्धी कामहरु गर्न पाउने भएका छन् ।




