सुजाता राई
विराटनगर । नेकपा एमालेको ११औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित पर्शुराम बस्नेतको विराटनगरमा भव्य तथा उत्साहपूर्ण स्वागत गरिएको छ।
विराटनगरस्थित क्षेत्रीय विमानस्थलमा आइतबार उनलाई पार्टी नेता–कार्यकर्ताले फूलमाला र नारासहित स्वागत गरेका हुन्।
नेपाल खेलकुद महासंघका केन्द्रीय अध्यक्षसमेत रहेका तथा नेकपा एमाले कोशी प्रदेश सचिवालय सदस्य एवं विराटनगर महानगर इन्चार्ज बस्नेतको स्वागतमा विमानस्थलदेखि विराटनगरस्थित एमाले पार्टी कार्यालयसम्म मोटरसाइकल र्याली निकालिएको थियो। र्यालीमा खेलकुद महासंघ र पार्टीका नेता–कार्यकर्ताको उल्लेखनीय सहभागिता रहेको थियो।
एमाले पार्टी कार्यालयमा नेपाल खेलकुद महासंघ कोशी प्रदेश कमिटीको आयोजनामा बधाई तथा शुभकामना कार्यक्रमसमेत सम्पन्न भएको छ। महासंघ कोशी प्रदेश कमिटीका अध्यक्ष रोहित कोइरालाका अनुसार कार्यक्रममार्फत विराटनगरमै रहेर खेलकुद महासंघको केन्द्रीय अध्यक्षदेखि पार्टीको केन्द्रीय सदस्यसम्मको जिम्मेवारी सम्हाल्दै आएका बस्नेतको योगदानको कदर गर्दै सम्मानपत्र प्रदान गरिएको हो।
कार्यक्रममा बोल्दै बस्नेतले ११औँ महाधिवेशनले राष्ट्रिय राजनीतिमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्व अझै आवश्यक र औचित्यपूर्ण रहेको सन्देश दिएको बताए। उनले आफूलाई प्राप्त जिम्मेवारीअनुसार पार्टी र जनताको हितमा इमान्दारिताका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
महाधिवेशन सफलतापूर्वक सम्पन्न भइसकेकाले अब एमाले आगामी आम निर्वाचनतर्फ केन्द्रित हुने उल्लेख गर्दै बस्नेतले पार्टी राष्ट्र निर्माणका लागि प्रमुख शक्तिका रूपमा अघि बढ्ने विश्वास व्यक्त गरे। युवामाझ लोकप्रिय छवि बनाएका बस्नेतले पार्टीभित्र युवा र खेलकुदकर्मीको अगुवाका रूपमा निरन्तर भूमिका निर्वाह गर्ने धारणा पनि राखे।
जनताको सुख–दुःख बुझ्ने, युवालाई अघि बढाउन प्रेरित गर्ने तथा असहाय, पीडित र कमजोर वर्गप्रति सदैव सहानुभूति र सहयोग गर्दै आएका कारण बस्नेत विराटनगरवासीको मन–मुटुमा बस्न सफल भएको स्थानीयको भनाइ छ। यही जनविश्वास र समर्थनका कारण केन्द्रीय सदस्यमा निर्वाचित भएपछि उनलाई स्वागत गर्न विराटनगरमा देखिएको उत्साहपूर्ण सहभागिताले कार्यक्रमलाई ऐतिहासिक बनाएको सहभागीहरूले बताएका छन्।




