महोत्तरी- औरही नगरपालिकाले ४० करोड ३३ लाख भन्दा बढीको बजेट सार्वजनिक गरेको छ । बिहीबार नगरपालिकाको १२ औँ नगरसभामा अगामी आर्थिक वर्ष २०८०/०८१ को लागि ४० करोड ३३ लाख ५९ हजार ५०० रुपैयाँको बजेट प्रस्तुत गरेको हो।
नगरप्रमुख प्रदीपकुमार खड्काले संघीय सरकारबाट प्राप्त बजेट, प्रदेश सरकारबाट प्राप्त बजेट, आन्तरिक आम्दानी र दातृ निकाय एवं संघ संस्थाबाट उपलब्ध भएको श्रोत अनुमान विवरणका आधारमा सो रकमको बजेट प्रस्तुत गरेको जानकारी दिनुभयो ।



उहाँले कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चतर्फ ८ करोड ३८ लाख, शिक्षा तथा खेलकुदतर्फ १३ करोड ८४ लाख ६० हजार, स्वास्थ्यतर्फ ३ करोड ६३ लाख, कृषि तथा पशुपक्षीतर्फ २ करोड ५५ लाख, ऊर्जातर्फ २२ लाख रुपैयाँ अनुमानित आय प्रस्तुत गर्नुभयो । यस्तै उद्योग तथा रोजगार प्रवर्द्धनतर्फ करोड ९ लाख, पञ्जीकरणतर्फ ९ लाख, पूर्वाधारतर्फ ७ करोड ५२ लाख ९९ हजार ५००, बस्ती विकास(दलित आवास कार्यक्रम)तर्फ २ करोड र खानेपानीतर्फ १ करोड रुपैयाँ गरी कूल ४० करोड ३३ लाख ५९ हजार ५०० रुपैयाँको बजेट नगरसभामा पेश गरेको नगरप्रमुख खड्काले जानकारी दिनुभयो ।
नगरप्रमुख खड्काले प्रस्तुत गर्नुभएको अगामी आर्थिक वर्ष २०८०/०८१ का लागि वार्षिक नीति तथा कार्यक्रममा कृषि, शिक्षा, स्वास्थ्य, रोजगार, सिचाईजस्ता क्षेत्रलाई प्राथमिकता दिइएको जानकारी दिनुभयाे ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीको प्रमुख आतिथ्यतामा आयोजित नगरपालिकाको १२ औँ नगरसभाको उद्घाटन समारोहमा प्रदेश सांसदहरु सरोज यादव,जयनुल राईन,रमिता प्रधान,जिल्ला समन्वय समिति महोत्तरीका प्रमुख सुमनलाल कर्ण,महोत्तरीका प्रमुख जिल्ला अधिकारी दिपक पहाडी, महोत्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रकाश मल्त,नगरउपप्रमुख रेणु झा, नगरसभा सदस्यहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू लगायतको उपस्थिति रहेको थियो ।
बजेटको पूर्ण पाठ




