मोहम्मद रिजवान र अब्दुल्लाह शफिकले शतक प्रहार गरेपछि पाकिस्तानले विश्वकप क्रिकेटमा कीर्तिमानी जित हासिल गरेको छ ।
श्रीलंकालाई ६ विकेटले हराउने क्रममा पाकिस्तानले विश्वकप इतिहासमै सबैभन्दा ठूलो लक्ष्य भेट्टाउने कीर्तिमान बनाएको हो । ३ सय ४५ रनको विशाल लक्ष्य पाकिस्तानले ४८.२ ओभरमा ४ विकेट गुमाएर पार गर्यो ।



विश्वकपको इतिहासमा चेज भएको यो सबैभन्दा ठूलो लक्ष्य हो । यसअघि विश्वकपमा २०११ मा आयरल्यान्डले इंग्ल्यान्डविरुद्ध ३ सय २८ रनको लक्ष्य पूरा गरेको थियो ।
पाकिस्तानको जितमा मोहम्मद रिजवानले अविजित १३१ रन बनाए । उनले १ सय २१ बलमा ८ चौका र ३ छक्का प्रहार गरेका थिए ।
ओपनर अब्दूल्लाह शफिकले १ सय ३ बलमा १० चौका र ३ छक्कासहित १ सय १३ रन बनाए । यो उनको पहिलो शतक हो । विश्वकपमा भने रिजवान र सफिक दुवैको पहिलो शतक हो ।
आजको खेलमा विश्वकप इतिहासमै पहिलो पटक चार शतक बने । श्रीलंकाली खेलाडीले पनि पहिलो इनिङसमा पनि दुई शतक हानेका थिए ।
टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३ सय ४४ रन बनाएको थियो ।
कुशल मेन्डिसले ७७ बलमा १४ चौका र ६ छक्कासहित १ सय २२ रनको उत्कृष्ट इनिङ्स खेले । उनले ६५ बलमा शतक पुरा गरेका थिए ।
यस्तै सदिरा समराविक्रमाले ७९ बलमा ११ चौका र २ छक्कासहित १ सय ८ रन बनाए । उनको एकदिवशीयमा पहिलो शतक हो।
पाकिस्तानका हसन अलीले ४ र हरिस रौफले २ विकेट लिए । पाकिस्तानले पहिलो खेलमा नेदरल्यान्ड्सलाई ८१ रनले हराएको थियो ।
उसले आगामी शनिबार भारतसँग खेल्नेछ । श्रीलंका पहिलो खेलमा दक्षिण अफ्रिकासँग १ सय २ रनले पराजित भएको थियो । बुधबार भारत र अफगानिस्तानबीच प्रतिस्पर्धा हुनेछ ।




