ढल्केवर- धनुषाको मिथिला नगरपालिकामा दोश्रो ढल्केवर औधोगिक व्यापार मेला २०७८ सुरु भएको छ ।
शुक्रवार औधोगिक व्यापार मेलालाई प्रदेश २ का उद्योग पर्यटन, वन तथा वातावरणमन्त्री शत्रुधन महतोले पानसमा बत्ती बालेर उद्घाटन गरेका हुन् ।
थुप्तेन युवा क्लव धनुषाको आयोजनामा शान्ति समृद्ध उद्योग र व्यापार राष्ट्र निर्माणको बलियो आधार भन्ने मूल नाराकासाथ दोश्रो ढल्केवर औधोगिक व्यापार मेला शुक्रवारदेखि सुरु भएको हो ।पुस ४ गतेसम्म चल्ने औधोगिक व्यापार मेलामा कृषि, पर्यटन, उद्योग, व्यापार एवं सूचना प्रविधिको बृहत प्रदर्शनी हुने आयोजक क्लवका अध्यक्ष धावा लामाले जानकारी दिए । धार्मिक, पर्यटकीयस्थलको चिनारी, कला, संस्कृती, घरेलु हस्तकला तथा लघु उद्यमका उत्पादनको पनि सो मेलामा प्रदर्शनी गरिने उनले बताए ।
भव्य मनोरञ्जनको माध्यमवाट आन्तरिक तथा बाह्रय दर्शकहरुमाझ जिल्लाका कृषी, पर्यटन, स्थानीय व्यापार, कला र संस्कृतीलाइ प्रचारप्रसार गर्दै धनुषालाई बिशिष्ठ पहिचानको रुपमा चिनाउने लक्ष्य रहेको अध्यक्ष लामाको भनाइ छ ।
उनका अनुसार मेलामा उपभोक्तालाई एकै थलोबाट सम्पूर्ण सामान उपलब्ध हुने व्यापारिक स्टलहरु पनि रहेको बताइएको छ । मेलामहोत्सवमा हरेक दिन राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका ख्यातिप्राप्त कलाकारहरुबाट मनोरञ्जन गराउने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।
थुप्तेन युवा क्लवका अध्यक्ष धावा लामाको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा मिथिला नगरपालिका–७ का वडाध्यक्ष रामु साह तेली, मिथिला उद्योग वाणिज्य संघ ढल्केवरका उपाध्यक्ष संतोष कुमार महतो, नेकपा एकीकृत समाजवादीकी नेतृ बबी महतो, सोमप्रसाद शर्मा, नेकपा माओवादी केन्द्रका राम कुमार महतो, दारी ग्याङका प्रदेश २ संयोजक देवराज घिमिरेलगायतका अतिथीहरुको उपस्थिती रहेको थियो ।