सुजाता राई
विराटनगर । श्री बबरसिंह – देवकुमारी थापा सेवा गुठी विराटनगरले साहित्य र कला क्षेत्रका दुई स्रष्टालाई शनिबार श्रीकृष्ण होटेलमा पुरस्कार तथा सम्मान समर्पण गरेको छ ।




प्रत्येक वर्ष प्रदान गरिने देवकुमारी थापा स्मृति सम्मान २०८२ बाट कवि ज्ञान उदास सम्मानित भएका हुन् । छ दशकभन्दा बढी समयदेखि नेपाली साहित्यको कविता विधामा दिएको योगदानका लागि कवि उदासलाई उक्त पुरस्कार सम्मान समर्पण गरिएको हो उनका आधा दर्जन भन्दा बढी कृति प्रकाशित छ्न् ।

यसै गरी दुई दशकभन्दा बढी समयदेखि चलचित्र र पत्रकारिता क्षेत्रमा दिएको योगदानका लागि सन्चारकर्मी तथा चलचित्र निर्देशक सङ्गिता श्रेष्ठलाई २०८२ सालको बबरसिंह थापा स्मृति सम्मान तथा पुरस्कार समर्पण गरिएको हो। दुई पुरस्कार तथा सम्मानको राशि क्रमश: एकाउन्न हजार र पच्चिस हजार रहेको छ । उक्त समारोहमा अतिथिको स्वागत गुठी र पुरष्कृत स्रष्टा सङ्गिता श्रेष्ठको परिचय गुठीका सचिव दिनेश श्रेष्ठ र वरिष्ठ कथाकार देवकुमारी थापा र सम्मानित कवि ज्ञान उदासको परिचय कवि तथा समालोचक प्रमोद प्रधानले प्रस्तुत गरेका थिए भने साहित्यकार बलराम पोखरेल र खेम नेपालीले पुरस्कृत स्रष्टालाई शुभकामना व्यक्त गरे।

यसअघि उक्त पुरस्कारबाट साहित्यकारहरू इन्द्रबहादुर राई मदनमणि दीक्षित ,सत्यमोहन जोशी, बालकृष्ण पोखरेल, दुर्गालाल श्रेष्ठ , बैरागी काँइला, चुडामणि बन्धु , तुलसी दिवस, मन्जुल, विन्ध्या सुब्बा र पुरस्कारबाट दीपक आलोक,कुन्ता शर्मा , गायत्री श्रेष्ठ , नवराज सुब्बा, धीरेन्द्र प्रेमर्षी, जयप्रसाद पाण्डे, प्रमोद प्रधान ,मोमिला, लक्ष्मी उप्रेती ,विमल वैद्य ,बुलु मुकारुङ, विक्रमश्री , सुमन पोखरेल लगायतका ३० भन्दा बढी स्रष्टाहरु पुरस्कृत र सम्मानित भैसकेका छन् ।

कार्यक्रममा गुठिका अध्यक्ष कविराज न्यौपानेको अध्यक्षता र प्राध्यापक डाक्टर रामबहादुर थापाको प्रमुख अतिथ्यतामा सम्पन्न समारोहको सञ्चालन कवि दिनेश सुवेदीले गरेका थिए।




