राधेश्याम कुशवाहा/सर्लाही
दुई समुदायका विवादका कारण अशान्त बनेका सर्लाहीका सदरमुकाम मलंगवामा फेरि रौनक फर्किएका छन् ।
हिन्दुहरुको महान चाड वडादसै सुरु भएसंगै सदरमुकाम मलंगवाका विभिन्न ठाउँमा गरिएको सरसफाइ र सजावटले सहर मनमोहक देखिएका छन् । स्थानीयवासीहरु पनि पुराना तितामिठा घटना र विवाद बिर्सेर पर्वमा उल्लेखनीय सहभागिता जनाउदै आएको कारण मलगवा थप सुन्दर र शान्त देखिएका छन् ।
मलंगवा नगरपालिका ८ दुर्गा भगवती मन्दिर स्थित मोहरसिंह धर्मशालाको प्राङ्गणबाट बाजा गाजा हजारौं सहभागिता सहित देवी दुर्गाको १०८ ध्वाजा यात्रा समेत निकालिएको छ ।

दुर्गा भगवती मन्दिरको आयोजनामा विजया दशमीको सातौ दिन अर्थात फुलपाततीका दिन निकाल्दै आएको ध्वजा यात्रा यसवर्ष पनि निरन्तरता दिईएको आयोजकले जनाएको हो ।
स्थानीय समाजसेवी जयप्रकाश अग्रवालको संयोजकत्वमा दुर्गा पुजा मुल समारोह समिति गठन गरि भगवती मन्दिरको प्रांगणबाट बिहान १० बजे निकालिएको ध्वजा यात्रा नगरको विभिन्न भागको परिक्रमा गर्दै पुन: सोही ठाउँमा आएर सम्पन्न गरिएको थियो।

ध्वाजा यात्रामा प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमला र प्रहरी उपरीक्षक प्रविन धिताल लगायत सुरक्षा निकायका प्रतिनिधिहरुले पनि सहभागिता जनाएको थियो ।
यात्रामा मधेस प्रदेश सांसद द्वय जंगिलाल राय,कौशल किशोर राय,मधेस प्रदेश दलित आयोगका अध्यक्ष राम प्रवेश बैठा, पुर्व संघीय सांसद प्रमोद साह, पुर्व मधेस प्रदेश सभा सदस्य अशोक यादव, जिल्ला समन्वय समितिका उपसभापति जितेन्द्र कुशवाहा,जिल्ला समन्वय समितिका पुर्व सभापति मेथुर चौधरी मलंगवा नगरपालिका पुर्व मेयर निरसल साह, विभिन्न वडाका वडाअध्यक्षहरु, दुर्गा पुजा समितिका सदस्यहरु नवनित अग्रवाल,विकास गोयल,संजय गुप्ता ,मुकेश जयसवाल,गौतम सर्राफ ,सत्यनारायण अग्रवाल ,सज्जन अग्रवाल नागरिक समाज,बुद्धिजीवी, स्थानीय समाजसेवी ,पत्रकार भारी संख्यामा स्थानीय महिला पुरुष श्रद्धालुहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।
आयोजक समितिले विजया दशमीको पहिलो दिन अर्थात घटस्थापनाको दिन हजारौं कुमारी कन्याहरुको कलश यात्रा र छैठौं दिन बेलन्यौतन यात्रा पनि निकालेका थिए।
घटास्थापनादेखि सुरु भएको दुर्गा पुजा १० दिनसम्म चल्ने छ । सर्लाही जिल्ला भरीका पुजा स्थलमा सम्बन्धित ठाउँका दुर्गा पुजा समितिहरुले देवी दुर्गा लगायत बिभिन्न देवी देउताहरुको प्रतिमा बनाएर मेलाको आयोजना गर्ने तयारी गरेका छन् ।
हिजो जिल्ला सुरक्षा समिती सर्लाहीका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमला को अध्यक्षता र जिसस सर्लाहीका प्रमुख कौशल किशोर सिंह को प्रमुख आतिथ्यमा सुरक्षा निकायका प्रमुख सहितका पुजा समितिका पदाधिकारीको उपस्थितमा समन्वय/ सहजीकरण बैठक बसी शान्ति सुरक्षा,मुर्ती सेलाउन विषयमा पुजा समितिको समन्वयमा विशेष परिस्थितिलाई मध्यनजर गर्दै सुरक्षा निकायबाट निर्धारित रुटको प्रयोग गरि मुर्ती विर्सजन गर्ने, मुर्ती विर्सजन गर्ने क्रममा उत्पन्न हरेक असहज परिस्थितिको पुर्ण जिम्मेवारी सम्बन्धित पुजा समितिको हुने, मुर्ती विर्सजन विहान ९ बजेदेखि ३ बजे भित्रमा सम्पन्न गर्ने र मुर्ती सेलाउने क्रममा सहभागी हुनेहरूलाई अनिवार्य रुपमा नाम र फोटो सहित ब्याच उपलब्ध गराउने निर्णय समेत गरिएको हो ।

यो पाली पनि मलंगवावासी बडो हर्षाेल्लास र उमंगका साथ पर्व मनाइरहेको नागरिक समाजका अगुवा शिवचन्द्र चौधरीले जानकरी दिनुभयो । मानिसहरु पुराना विवाद र घटना भुलेर मानिसहरू पर्वमा मग्नछन। उहाँले भन्नुभयो । प्रशासनले पनि मुर्ती सेलाउने रुटको निर्धारण गरिदिएका कारण विवाद नहुनेमा उहाँ विश्वस्त हुनुहुन्छ ।
धार्मिक विवादका कारण केही अशान्त बनेका सदरमुकामवासी शान्ति पुर्वक निकालिएको ध्वाजा यात्राले उत्साहित भएर भारी संख्यामा सर्वसाधारणको सहभागिताले मलंगवामा फेरि रौनक फर्किएको अनुभुति गरेका छन् ।
दुर्गा पुर्जाको अवसरमा सदरमुकाम मलगवाको सबै ठाउँमा सफा सुग्घर टिपिक्क पारिएका छन, भने विभिन्न मुख्य ठाउँलाई दुल्हिन जस्तै सिघाँरिएका छन ।


