जनकपुरधाम- बृहतर जनकपुर क्षेत्र विकास परिषदका अध्यक्ष शितल साहले केहि कर्मचारीहरुले लगाएको आरोप सरासर झुटो र भ्रामक रहेको बताउनुभएको छ।
कार्तिक २ गते बृहत्तर जनकपुर क्षेत्र विकास परिषदका कर्मचारीहरुले अध्यक्ष शितल साहमाथि ११ बुँदे आरोप लगाउँदै सरकारसँग बर्खास्त गर्न माग गर्दै कर्मचारीहरुले सामुहिक रुपमा विज्ञप्ती जारी गरेका थिए।
विज्ञप्तीमा साह परिषदको अध्यक्षमा नियुक्त भएदेखि नै कार्यालयलाई व्यापकरुपमा क्षती पुर्याउँदै अनियमितता गर्ने अखाडा बनाएको र कर्मचारीमाथि समेत व्यापकरुपमा दवाव सृजना गरेको आरोप समेत लगाउँदै बर्खास्त गर्न माग गरेको उल्लेख गरिएको छ।
बडादसैँको अवसरमा तलब भत्ता लगायतका सेवा सुविधाका लागि अवरोधक बनेको भन्दै दर्जनभन्दा बढी कर्मचारीहरुले अध्यक्ष साहको मनोमानी विरुद्ध ११ बुँदे आरोप लगाउँदै कार्यालय तथा निवास प्रवेश प्रवेशमा समेत निषेध गरिएको विज्ञप्तीमा जनाएको छ ।
कर्मचारीहरुको उक्त कदमको खण्डन गर्न परिषदका अध्यक्ष साहले आज जनकपुरधाममा एक पत्रकार सम्मेलनको आयोजना गरि कर्मचारीहरुले कार्यालयमा प्रवेश निषेध गरिएको बारे अतिरञ्जित रुपमा आएको समाचार प्रति ध्यानाकर्षण भएको जनाउनुभयो ।
नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय कोषाध्यक्ष समेत रहेका परिषदका अध्यक्ष साहले कर्मचारीहरुको स्वार्थपूर्ती नहँुदा मेरो चरित्र हत्या गर्ने षडयन्त्र गरेको आरोप लगाउनु भयो ।
‘परिषदको अध्यक्षको पद सम्हालेदेखि आजको दिन सम्म (करीब १५ महिना) मैले तलब, भत्ता, संचार, इन्धन लगायत कुनै पनि किसिमको आर्थिक लाभ नलिई अहोरात्र परिषदकै कार्यमा खटि रहने म शितल साह माथि लगाईएको आरोपहरु विल्कुल निराधार हुन, मेरो चरित्र हत्या गर्ने षडयन्त्र हो, मैले कुनै अपराध गरेको भए भगवान नै साक्षी छ र रही रहने छ ।,’,उहाँले बताउनुभयो ।
परिषदमा कार्यरत कर्मचारीहरुलाई २०८० सालको श्रावण, भाद्र, असोज र चाडपर्व खर्च उपलब्ध गराउने सम्वन्धमा परिषदको अध्यक्षको नाताले परिषदको तत्कालीन निमित्त निर्देशक मनिष झालाई बारम्वार मौखिक रुपमा भनि रहँदा रहदै पनि अटेर गर्ने गरेकोले मिति २०८०साउन २५ गते नै पत्र मार्फत नियमानुसार बैठक बोलाउन लिखित निर्देशन दिएको उहाँले जानकारी दिँदै भन्नुभयो,‘२०८० भाद्र १ परिषदको कार्यकारी समितिको बैठक र धनुषाको लालगढ अस्पतालको सभा कक्षमा २०८० भाद्र २ गते परिषदको बैठक बोलाउनु पर्नेमा निमित्त निर्देशक मनिष झा २०८० भाद्र १ गते परिषदको कार्यालयमा उपस्थित हुँदा हुँदै पनि परिषदको कार्यकारी समितिको बैठकमा नआएको र वैठकको माईनट पुस्तिका समेत निज निमित्त निर्देशक झाले लुकाई हिडेको हुँदा ११ सदस्यीय कार्यकारी समिति मध्ये उपस्थित ६ जना पदाधिकारीहरु उपस्थ्ति भई सादा कागजमा उपस्थिति जनाई निमित्त निर्देशक मनिष झाको उपरोक्त बमोजिमको गैर जिम्मेवारी व्यवहारको लागि बृहत्तर जनकपुर क्षेत्र बिकास परिषदको नियमावलीमा गरिएको व्यवस्था अनुसार सम्वन्धित निकायमा कारवाहीको लागि सिफारिस गर्ने निणर्य समेत भएको छ।’
परिषद अन्तरगत कार्यरत जनशक्तिको तलब भत्ता लगायत प्रशासनिक व्यवस्थापन कार्यकारी निर्देशकले गर्ने हो न की परिषदको अध्यक्ष वा कार्यकारी समितिले भन्ने प्रश्न उहाँले तेस्र्याउनुभयो । निर्देशकले पूरा गर्ने जिम्मेवारीमा अध्यक्षलाई दोष दिनु स्वभाविक रुपमा चरित्र हत्याको षडयन्त्र रहेको अध्यक्ष साहले दावी गर्नु भयो ।
परिषदका केहि कर्मचारीहरुको उक्साहटमा परि आफ्नो पदीय जिम्मेवारी बोध नगर्ने निमित्त कार्यकारी निर्देशक मनिष झाको बेवास्ताका कारण तलब तथा चाडवाड खर्च समयमा उपलब्ध गराउन नसकेको उहाँले प्रष्ट पार्नुभयो । परिषदको ऐन, २०५५ को दफा १७ (२) बमोजिम परिषदको कार्यकारीको जिम्मेवारीमा कर्मचारी खटाउने जिम्मेवारी नेपाल सरकारको रहेको हुँदा मैले आउन नदिएको भन्ने आरोप विल्कुल निराधार रहेको उहाँको कथन थियो ।
आर्थिक वर्ष २०७९/०८० को पुँजीगत रकमको खर्च नहुनुमा म अध्यक्ष नभई कार्यकारी निर्देशक तथा सम्वन्धित कर्मचारी नै जिम्मेवार रहेको आरोप लगाउँदै उहाँले भन्नुभयो,‘थप आर्थिक भार पर्ने करारका कर्मचारीहरुको म्याद थप नगर्ने सम्वन्धी नेपाल सरकारको सर्कुलर रहेको हुँदा परिषदको मिति २०७९ असोज ११ गतेको कार्यकारी समितिको नीतिगत निणर्य अनुसार करारका प्राविधिक कर्मचारीहरुलाई नियमानुसार काममा नलगाउने निणर्य गरिएको हो । साथै कार्यकारी समितिको २०७९ फाल्गुन ५ गतेको निणर्य अनुसार नियमानुसार कार्य सञ्चालन गर्न गराउन कर्मचारीहरुलाई जिम्मेवारी तोकिएको थियो तत् पश्चात पनि उक्त आ.व.को पुँजीगत खर्चवाट संचालन हुने कार्यहरु सेवा प्रदायकवाट गराउने परिषदको निणर्य बिपरीत केही कर्मचारीले आफ्नो नातागोताको करारका प्राविधिक कर्मचारीहरुको म्याद थप नगर्दा न आफु काम गर्ने न अरुवाट हुन दिने अडान राखेकोले उत्त आ.व.मा कर्मचारीको तलव भत्ता वाहेक कुनै पनि पुँजीगत खर्च नभएको सही नै हो ।’
जनकपुरधाम स्थित जानकी मन्दिर अगाडी रहेको रघुपति मिष्ठान भण्डारको मध्यमा जडान गरिएको डिजिटल डिस्प्ले वोर्ड जडान सम्वन्धमा समेत मेरो गम्भिर ध्यानाकर्षण भएको उहाँले जानकारी दिँदै उहाँले भन्नुभयो,‘ मैले मेरो छोरा मार्फत भुक्तानी लिने गरेको निराधार आरोप लगाईएको छ । स्पष्ट के पार्न चाहन्छु भने आज सम्म रघुपति मिष्ठान भन्डारको बिचमा जडान गरिएको डिजिटल डिस्प्ले बोर्ड तथा विज्ञापन वापत म लगायत मेरो कुनै नातेदारको फर्मले भुक्तानी लिएको छैन । छ भने कपोलकल्पित आरोपको खेति गर्ने मनुवाहरुलाई प्रमाण पेश गर्न चुनौती दिन्छु । उक्त वोर्ड निःशुल्क रुपमा विवाह पञ्चमीमा मेला भर्ने साधु सन्त तथा आम धर्मावलम्वीहरुमा जनकपुरधामको बारेमा जानकारी उपलब्ध गराउनु हो।’
जनकपुरधामको प्राचिनता, मौलिकता तथा साँस्कृति पक्षहरुको प्रचार प्रसार गर्नु गराउनु अपराध हो भने म अपराधी नै हो बताउँदै उहाँले ममाथि लगाइएको आरोपको घटनालाई छानबिनको दायरामा ल्याउनु पर्ने माग समेत अघि सार्नु भयो। मेरो प्रयास अपराधजनक हो भने तिनलाई के संज्ञा दिने जसले त्यसता ठाउँमा संचालित विधुतिय प्रणाली वन्द गर्नको लागि विधुत प्राधिकरणलाई पत्राचार गर्ने गर्दछन?
बृहतर जनकपुर क्षेत्र बिकास परिषदको गाडी मैले आफ्नो व्यक्तिगत व्यवसायीक प्रयोजनमा प्रयोग गर्ने गरेको समाचार हास्यास्पद रहेको बताउँदै उहाँले व्यक्तिगत गाडी विगत ३० वर्ष देखि नियमित रुपमा चढि आएकोको कुरो जगजाहिर रहेकाृे स्पष्ट पार्नुभयो ।
परिषदको गाडी प्रयोगको सवालमा उहाँले परिषदको गाडी प्रयोग गरेको दिन र उदेश्यको बारेमा प्रत्येक दिनको लगवुक मेन्टेन गरिएको स्पष्टिकरण दिनुभयो । यदि कसैलाई शंका छ भने जसले पनि जुन सुकै बेला उक्त लगवुक छानविन गर्न सक्ने चुनौतीसमेत उहाँले दिनुभयो । त्यसैगरी आर्थिक वर्ष २०७९।०८० को १ करोड ९६ लाख मध्ये केही खर्चको भुक्तानी सम्वन्धमा लगाईएको आरोप पुणर् रुपमा झुठो रहेको दावी गर्दै उहाँले परिषदका अध्यक्ष वा कार्यकारी समितिको पदाधिकारीको काम नीतिगत सहजता प्रदान गर्ने उद्देश्य मात्र रहेको उल्लेख गर्नु भयो ।
बिना कमिशन परिषदका कर्मचारीहरुले नियमित रुपमा भएका कार्यहरु समेतको भुक्तानी नदिने गरेको यर्थात मैले प्रस्ट्याई रहनु नपलर्ने बताउँलदै उहाँले नियम विपरीत भुक्तानीको लागी मैले आर्थिक प्रशासन शाखा, स्टोर शाखा लगायतलाई दवाव दिने गरेको आरोमा कुनै पनि सत्यता नरहेको प्रष्ट्याउनु भयो ।
विगतका वर्षहरुमा विवाहपंचमी महोत्सवमा चालिस पचास लाख सम्मको रकम खर्च हुने गरेकोमा आफूले पदभार ग्रहण गर्दा सोही कामहरु ११/१२ लाख बजेटमै सम्पन्न गरेर देखाएको र कर्मचारीहरुले कमिशनको खेल गर्न नसकेको अध्यक्षमाथि निराधार आरोप लगाई कर्मचारीहरुले मनोमानी गरेर समग्र परिषदकै प्रतिष्ठामा आँच आउने काम गरिरहृेको उहाँले आरोप लगाउनु भयो







