सन्तोष सिंह,धनुषा – महोत्तरीको लक्ष्मिनिया सब-डिभिजन वन कार्यालयको घाटगद्दीमा आगो लाग्दा वन पैदावार जलेर नष्ट भएको छ । लक्ष्मिनिया सब डिभिजन वन कार्यालय कम्पाउन्डमा रहेको घाटगद्दी स्थलमा बिहीबार अचानक आगलागी भएर ठूलो मात्रामा वन पैदावारको क्षति भएको हो ।

वनमा लागेको अगो डिभिजन वन कार्यालय कम्पाउन्डमा रहेको घाटगद्दीमा सल्केर वन पैदावार जलेको लक्ष्मिनिया सब डिभिजन वनका रेन्जर क्षितिज पौडेलले बताए ।



कार्यालयको पश्चिमपट्टि वनमा लागेको आगोको झिल्का हावाहुरीले गाटगद्दीमा लागेको र क्षति यकिन हुन नसकेको उनले बताए । वन कर्मचारी, नेपाल प्रहरी र सशस्त्र प्रहरी समेतले ४ वटा वारुण यन्त्रको सहयोगमा आगो निभाइएको जिल्ला वन कार्यालय महोत्तरीले जनाएको छ । डिभिजन वनमा रहेको काठको विवरण वन कार्यालयमा नरहेको रेन्जर पौडेलले बताए ।
स्थानीयका अनुसार लामो समयदेखि सब डिभिजन वन कार्यालयको परिसर र वन क्षेत्रमा राखिएको घाटगद्दीबाट काठ तस्करी भएको र तस्करीको पोल खुल्ने भएपछि वनकै कर्मचारीको मिलोमतोमा वनमा आगो लगाएर काठ जलाउने काम भएको हो । जंगल कटान र चोरी निकासीको क्रममा नियन्त्रणमा लिइएको काठ घाटगद्दीमा राखिएको थियो ।
लगातारको सुख्खा, खडेरी, वायुमण्डलको तापक्रममा वृद्धि र ऋतु परिवर्तनले पुराना पात सुकेर भुईंमा झरेको र यसप्रति अपेक्षित ध्यान नदिँदा वनमा आगो लागेर क्षति भइरहेको मधेश प्रदेश वन निर्देशनालयका वन अधिकृत सुरेश शर्माले बताए ।-कान्तिपुर





