मंजित कुमार राम,मिर्चैया (सिरहा)– दलित समुदायका पत्रकारहरूले आफूहरूलाई पत्रकारितामार्फत अघि बढ्न चौतर्फी चुनौती पार गर्नुपर्ने बाध्यता रहेको बताउनुभएका छन् । उसै त आर्थिक अवस्था कमजोर रहेको परिवेशमा जातीय भेदभाव तथा छुवाछूत जस्ता समस्याले पेसा गर्न बाधा पुग्याएको उहाँहरूको दाबी छ ।
दलित समुदायका व्यक्तिलाई पत्रकार नै नमान्ने गैरदलित चलनका कारण पनि यो पेसामा टिक्न गाहराे भएको उहाँहरूको भनाइ छ ।



युएसएआइडी नेपालको आर्थिक, द एसिया फाउन्डेसनको कार्यान्वयन र दलित सरोकार मञ्च नेपालको प्राविधिक सहयोगमा मधेस प्रदेशमा सञ्चालित युएसएआइडी सिभिक सोसाइटी एन्ड मिडिया एक्टिभिटी अन्तर्गत दलित समुदायका नागरिक समाज, जनप्रतिनिधि र पत्रकारहरूको सञ्जाल निर्माण र परिचालन परियोजनाअन्तर्गत दलित पत्रकार सञ्जालका पदाधिकारीहरूका लागि सिरहाको मिर्चैयामा आयोजित २ दिने क्षमता विकास तालिममा सहभागीहरूले यस्तो धारणा व्यक्त गर्नुभका हुन् ।

तालिमका सहभागीहरूले आफूहरूलाई स्थानीय सरकारले समेत क्षमता विकासका लागि कुनै सहयोग नगरेको, उल्टै पत्रकारका रूपमा जाँदा पनि विभेद गर्ने गरेको र सूचना दिनसमेत नमान्ने परिपाटी विकास हुँदै गएको गुनासो गर्नुभएकाे छन् । क्षमता अभावका साथै कम्प्युटर, मोबाइल, क्यामेरा जस्ता पत्रकारिताका लागि आवश्यक सामग्रीमेत नहुँदा गैरदलित पत्रकारसरह काम गर्न नसकिएको भनाइ पनि उहाँहरूको थियो ।
तालिमका क्रममा सहभागीहरूले मधेस प्रदेश सरकारले जारी गरेको दलित सशक्तीकरण सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७६ र त्यसमा उल्लिखित प्रावधानहरू पालिकाहरूले नै पालना नगरेको जस्ता सवाल उठाएका थिए । साथै अहिले पनि जातीय विभेदका घटना दोहोरिइरहेका र कानुनको कार्यान्वयन प्रभावकारी नभएको विषयमा पनि उनीहरूले रिपोर्टिङ गर्नुपर्ने आवश्यकता महसुस भएको उल्लेख गरे ।
तालिमका अवसरमा मधेस प्रदेशका ८ वटै जिल्लाका दलित पत्रकार सञ्जालका पदाधिकारीहरूले आफूहरूबीच एकातिर पत्रकार क्षमता विकासको अवसर पहिल्याउनुपर्ने बाध्यता छ भने अर्कोतिर आफ्नो समुदायका उत्पीडनका घटना पनि उजागर गनुपर्ने दायित्य छ भन्दै थपे– आफूहरू नै अभाव र पीडाबाट गुज्रिरहेका बेला एकैपटक २ वटा जिम्मेवारी पूरा गर्न निकै कठिनाइ भोग्नुपरेको छ ।

तालिमका क्रममा प्रशिक्षक डा. विजयप्रसाद मिश्रले पत्रकारले आफ्नो क्षमता वृद्धिका लागि अपनाउनुपर्ने क्रियाशीलता र त्यसले पेसालाई सहज तुल्याउन गर्ने मद्दतबारे जानकारी गराएका थिए । त्यस क्रममा मिश्रले दलित समुदायका पत्रकारको सवल र दुर्वल पक्ष अनि चुनौतीहरू निक्र्यौल गर्दै यसलाई कसरी अवसरमा बदल्ने भन्नेबारे सुझाएका थिए ।अर्का प्रशिक्षक पत्रकार रघुनाथ लामिछानेले लेखन÷पत्रकारिताका माध्यमबाट दलित समुदायका समस्या पहिचान गर्ने, एङ्गलिङ गर्ने, त्यसलाई प्रस्तुत गर्ने तरिकाबारे बताउनुभएका थिए ।
साथै उहाँले सत्यतथ्य, सन्तुलित र विश्वसनीय पत्रकारिताले मात्र पत्रकारको वास्तविक सुरक्षा गर्न सक्ने भएकाले यो पक्षलाई जस्तै प्रतिकूल अवस्थामा पनि छाड्न नहुने सुझाव दिनुभएयाे ।
आयोजक संस्था दलित सरोकार मञ्च, नेपालका कार्यकारी निर्देशक भोला पासवानले पालिकाको योजना तर्जुमा, बजेट निर्माण, स्थानीय जातीय विभेद तथा छुवाछूत अनुगमन समिति निर्माण र प्रभावकारी बनाउने जस्ता क्षेत्रमा क्रियाशील तुल्याउन दलित पत्रकार सञ्जालका पदाधिकारीलाई यस्तो क्षमता विकास तालिम कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभएकाे थियो । खासगरी दलित कार्यपालिका सदस्य, राजनीतिक दलका दलित भातृ सङ्गठनका पदाधिकारी, दलित समुदायका अगुवा पत्रकार र दलित नागरिक समाजका पदाधिकारीहरूलाई सक्रिय तुल्याइ सहकार्य गराउनु आफ्नो संस्थाको मुख्य उद्देश्य रहेको जानकारी दिनुभयो ।




