मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले धनुषा जिल्लाको गणेशमान चारनाथ नगरपालिका–७ पोर्ताहास्थित कमलामाई क्रसर उद्योगको निरीक्षण गर्दै स्टक प्रमाणीकरण नहुँदासम्म उत्पादन नओसार्न निर्देशन दिएका छन् ।
मुख्यमन्त्री सिंहले जिल्ला प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) भुवनेश्वर तिवारी सहितको टोलीसहित आज साँझ उद्योगको स्थलगत अनुगमन गरेका हुन् ।



नदीजन्य पदार्थको अवैध दोहनबारे बढ्दो चिन्तालाई मध्यनजर गर्दै उनले उद्योगमा सञ्चित ढुङ्गा, गिट्टी र बालुवाको स्रोत तथा वैधता प्रमाणित नभएसम्म ढुवानी गर्न नदिन कडा निर्देशन दिए । साथै, कुनै पनि अनियमित गतिविधि देखिएमा कानुनी कारबाहीको चेतावनी समेत दिए ।
मुख्यमन्त्री सिंहका अनुसार, सोमबार स्थानीय तहसँग छलफल गर्दै आवश्यक प्रमाणीकरणको टुङ्गो लगाइने छ । त्यसपछि मात्र उद्योग सञ्चालनको विषयमा निर्णय गरिनेछ ।
निरीक्षणका क्रममा उनले क्रसर उद्योगको दर्ता, नवीकरण, प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन, सञ्चित नदीजन्य पदार्थको परिमाण, उत्खननका स्थान तथा गहिराइ जस्ता पक्षबारे विस्तृत जानकारी लिएका थिए ।
धनुषाको कमला खोलामा वर्षौँदेखि भइरहेको अवैध उत्खननका कारण नदी प्रणालीमा प्रतिकूल असर परेको स्थानीयवासी बताउँछन् । क्रसर उद्योगहरूले एक्साभेटर जस्ता उपकरण प्रयोग गरी जथाभाबी उत्खनन गर्दै स्थानीय ट्याक्टरमार्फत ठूलो परिमाणमा नदीजन्य पदार्थ ओसार्ने गरेका छन् ।
यद्यपि, क्रसर उद्योगहरू बालुवा प्रशोधन केन्द्रको अनुमति लिएर सञ्चालनमा छन् । तर, अधिकांश उद्योगहरू मापदण्ड विपरीत बन क्षेत्र, स्वास्थ्य संस्था, पुलपुलेसा तथा खोलानदी किनारमै सञ्चालन भइरहेका छन् । जसले गर्दा वातावरणीय तथा संरचनात्मक जोखिम बढाएको विज्ञहरू बताउँछन् ।
मुख्यमन्त्री सिंहको निर्देशनपछि अब यस क्षेत्रका क्रसर उद्योगहरूको नियमन कडा बनाउने सङ्केत देखिएको छ ।




