धनुषा- लागु औषध ब्राउन सुगर सहित धनुषाबाट एकजनालाई पक्राउ गरिएको छ।
पक्राउ पर्नेमा धनुषाको गणेशनाथ चारनाथ नगरपालिका १ छघरिया बस्ने ३२ वर्षीय राजेश यादव भन्ने राजु यादव रहेको प्रहरीले जनाएको छ।
लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दिबासबाट खटी गएको प्रहरी टोलिले गणेशनाथ चारनाथ नगरपालिका १ आसपासमा अवैध लागु औषध कारोबार हुदैछ भन्ने बिशेष सूचनाको आधारमा यादवलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय ढल्केबरले बताए ।
यादवलाई प्रहरी टोलीले गणेशनाथ चारनाथ १ स्थित महेन्द्र राजमार्गबाट करिब १०० मिटर दक्षिण तर्फको खुल्ला चउरमा प्रदेश २-०२-००४ प ९०३७ नम्बरको मोटरसाईकल शंकास्पद रुपमा रोकीराखेको अवस्थामा खानतलासी गर्दा पाईन्टको दाहिने गोजीमा कालो रंगको प्लास्टिकको टुक्रामा बेरी सेतो प्लास्टिकमा लुकाई छिपाई राखेको अवस्थामा अवैध लागु औषध (ब्राउन सुगर) जस्तो देखिने गिलो पदार्थ फेला परेको इप्रका ढल्केवरले बताए ।
निजको साथबाट बरामद भएको ब्राउन सुगर प्लास्टिक सहित ४८.३६ ग्राम र प्लास्टिक हटाई तौल गर्दा ३९.१९ ग्राम रहेको प्रहरीले जनाएको छ।
यादवलाई मोटरसाइकल, लागु औषध तौल गर्न प्रयोग गरिने डिजिटल तराजु र एप्पल कम्पनीको मोवाईल थान-१ सहित आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय ढल्केबर धनुषा बुझाईएको छ ।




