नुवाकोट – नुवाकोटको सडकमार्गमा पहिलो पटक टाइम कार्ड प्रणाली लागू गरिएको छ। पहिलो चरणमा सो टाइम कार्ड प्रणाली त्रिशूली-छहरे-टोखा–माछापोखरी सडकमा लागू गरिएको हो। जिल्ला प्रशासन कार्यालय नुवाकोटमा सरोकारवालाहरूको संयुक्त बैठकले सडक मार्गमा सवारी दुर्घटना बढेपछि टाइम कार्ड प्रणाली लागू गर्ने निर्णय गरेको हो।
सरोकारवालाहरूको निर्णय अनुसार यही फागुन १५ गते बिहीबारदेखि पहिलो चरणमा ५५ किलोमिटर दूरीको त्रिशूली-छहरे-टोखा-माछापोखरी सडकमा लागू गरिएको हो। यसबाट यातायात दुर्घटना न्यूनीकरण भई धनजनको क्षति हुनबाट जोगिने जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ।



त्रिशूली-छहरे-टोखा–माछापोखरी सडक खण्डमा सञ्चालन भइरहेका सार्वजनिक यातायातका साधनका लागि टाइम कार्ड लागू गरिएको प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीको भनाइ छ। उनका अनुसार उक्त सडक खण्डमा सार्वजनिक यातायातहरू बढी दुर्घटनामा हुन थालेपछि टाइमकार्ड प्रणाली लागू गरिएको हो।
सडकको क्षमता र प्रकृति अनुसार टाइमकार्डको सीमाभित्र रहि सञ्चालन गर्न गराउनका लागि समेत आग्रह गरिएको सहायक प्रजिअ कृष्णप्रसाद हुमागाईंद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। यही फागुन १२ गते यातायात व्यवसायी सहित सम्बन्धित पक्ष र सरोकारवालासँगको बैठकपछि सो निर्णय गरिएको जनाइएको छ।
काठमाडौंको सामाखुशीबाट ५० किलोमिटरको यात्रापछि नुवाकोटको गंगटे पुग्न सकिन्छ। नुवाकोट प्रवेशका लागि सो मार्ग सबैभन्दा छोटो दूरीको बाटो हो। बाटोको अवस्था साँघुरो र घुम्ती बढि भएकाले द्रुत गतिमा सवारी सधान सञ्चालन भए दुर्घटनाको सम्भावना बढि हुने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
सोही कारण पटक/पटक दुर्घटना हुँदै आएको छ। पछिल्लो समय उक्त सडकमा साना गाडी बढि चल्ने गरेका छन्। सवारीसाधानहरू समयमा गन्तव्यमा पुगे नपुगेका विषयमा भने ट्राफिक प्रहरीले निगरानी गर्ने बताइएको छ। पछिल्लो समय उक्त सडकबाट दैनिक दुई हजार भन्दा सवारी साधन ओहोरदोहोर गर्ने अनुमान गरिएको छ। जिल्ला ट्राफिक कार्यालयका नुवाकोटका अनुसार उक्त सडकलाई दुई खण्डमा विभाजन गरिएको छ। जसअनुसार पहिलो खण्डमा ढिकुरेदेखि छहरे र दोस्रो छहरेदेखि गुर्जेभन्ज्याङ रहेको छ।
सो अनुसार ढिकुरेबाट छहरेसम्म ५ दशमलव ४ किमीका लागि २० मिनेट र छहरेबाट गुर्जेभन्ज्याङ १९ दशमलव ७ किमिका लागि ५० मिनेट समय निर्धारण गरिएको छ। पछिल्लो समय नुवाकोट, काठमाडौंका लागि सहज र छोटो बाटोमा रूपमा उक्त सडकलाई लिने गरिएको र यातायातका साधन र यात्रुहरूको चाप बढिरहेको शिवपुरी गाउँपालिका अध्यक्ष गोविन्दप्रसाद थपलियाको भनाइ छ। नुवाकोटमा नमस्ते पासाडल्हामु यातायात प्रालि, टिमुरे यातायात, त्रिशूली यातायात र नेपाल माइक्रो कम्पनीले सार्वजनिक यातायात सञ्चालन गर्दै आएका छन्।




