महोत्तरी,(औरही) – औरही नगरपालिकामा पछिल्लो समय खानेपानीको चरम समस्या देखिन थालेको छ। नगर क्षेत्रका धेरैजसो टोल तथा वडामा खानेपानीको कलमा पानी सुकेपछि स्थानीयवासीहरू बाध्य भएर महँगो मूल्यमा जार किनेको पानी खानुपर्ने अवस्था आएको छ।
औरही नगरपालिका–२ का दिगम्बर चौधरीको धारो सुकिएपछि उनी केही दिनदेखि बजारबाट जारको पानी किनेर उपभोग गरिरहेका छन्। त्यस्तै, औरही नगरपालिका–१ का रामब्राण मण्डलको घरमा रहेको खानेपानीको कलमा पनि सुकिएको छ। यस्तो समस्याबाट नगरपालिकाका अन्य वडाहरू पनि अछुतो रहेका छैनन्।



हाल दर्जनौँ खानेपानीको कलहरू सुकिसकेको स्थानीयवासीहरूले जानकारी दिएका छन्।स्थानीयवासीहरूका अनुसार, यो गम्भीर समस्या भए पनि न त नगरपालिकाले चासो दिएको छ, न त सम्बन्धित वडाहरूले नै पहल लिएको देखिन्छ। औरही नगरपालिका–१ का स्थानीयवासी सकिन्द्र सादा भन्छन्, “हुनेलाई त पैसा तिरेर पानी किनेर खान सजिलो होला, तर म जस्तो गरिब मान्छे कहाँबाट पैसा ल्याएर पानी किन्ने? कतिदिन अरूको घरमा गएर कलबाट पानी लिएर खाने गरेको छु,”पानीको चरम अभावले गाउँको कृषि प्रणाली समेत प्रभावित भएको छ। आकाशबाट वर्षा नपरेकाले रोपाइँसमेत ठप्प जस्तै भएको स्थानीय किसानहरूको गुनासो छ।
औरही नगरपालिका–२ का किसान दिनेश यादवका अनुसार, “कतिपय किसानले मोटरबाट सिँचाइ गरेर रोपाइँ गरे पनि अहिले मोटरबाट पनि पर्याप्त पानी नआएकाले रोपिएको धानमा सुक्खा लाग्न थालेको छ। “यता, औरही नगरपालिका–१ मा वर्षौंदेखि निर्माण सम्पन्न भइसकेको खानेपानी योजना अहिलेसम्म संचालनमा आउन सकेको छैन। स्थानीय संजित यादवको भनाइ अनुसार, “यदि त्यो योजना संचालनमा आएको भए आज यस्तो संकट आउँदैनथ्यो। तर कसैलाई चासो छैन, जसको कारण जनताले यस्तो दुःख भोग्नुपरेको छ।
“स्थानीयवासीहरू अब नगरपालिका र सरोकारवाला निकायसँग तत्काल समाधानको माग गरिरहेका छन्। पानीको संकट समाधान गर्न ढिलाइ भए जनस्वास्थ्य र जीविकोपार्जनमा गम्भीर असर पर्न सक्ने देखिन्छ।




