जनकपुरधाम । रौतहटको माधवनारायण नगरपालिका–६ माधोपुरकी ३० वर्षीया रुबीकुमारी साहको हत्या आरोपमा पक्राउ परेका लक्ष्मण पासवानको बुधबार साँझ मृत्यु भएको छ ।
पासवानले शरीरमा आगो लगाएर आत्महत्याको प्रयास गर्दै गरेको अवस्थामा उद्वार गरिएको थियो ।
गम्भीर अवस्थाका उनलाई उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल लगिएकोमा उउनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गौरले जानकारी दिएको छ ।
गएको शनिबार साँझ गौरस्थित ब्युटी पार्लर जान्छु भन्दै घरबाट निस्किएकी रुबीको अर्को दिन सुट्केसमा शव फेला परेको थियो । उनी आइतबार भारतको मुजफ्फरपुरस्थित घर फर्कनु अघि अनुहारमा फेसियल गर्न पार्लर गएकी थिइन् ।
पार्लरबाट फर्किएपछि लक्ष्मणले गौरस्थित आफ्नै डेरामा बोलाएर उनको घाँटी थिचेर हत्या गरेको बयान दिएका थिए ।
सोही राति करिब १० बजे गौर–सिरसिया सडकखण्डअन्तर्गत गौर नगरपालिका–९ मुडवालगेट नजिक बेवारिसे सुटकेस भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । बिहानपख सुटकेस खोलेर हेर्दा रुबीको शव फेला परेको थियो ।
हत्या गरेर फरार भएका लक्ष्मण केही दिनसम्म भारततर्फ र गाउँवरपर लुकेर बसेका थिए । बुधबार बिहान माधोपुर गाउँनजिकै मट्टितेल खन्याएर आत्महत्या गर्न खोजेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । त्यही दिन प्रहरीको टोलीले गम्भीर अवस्थामा उनलाई उद्धार गरी उपचारका लागि अस्पताल पुर्याएको थियो ।
आफैंलाई आगो लगाउनुअघि लक्ष्मणले करिब ९ मिनेट लामो भिडियो समेत खिचेका थिए । सो भिडियोमा उनले रुबीको हत्या गरेको स्वीकार गर्दै आफ्नो जीवनमा ठूलो अपराध गरेकाले आत्महत्या गर्ने बताएका थिए ।
स्कूल पढ्ने समयदेखि नै रुबीसँग प्रेम सम्बन्ध रहेको पनि उनले बताएका थिए । त्यसक्रममा उनले जिल्ला अदालत सर्लाही र भारतको सीतामढीस्थित अदालतमा आफूहरूको प्रेम विवाह भएको भएपनि रुबीकी आमा र दुवै घरपरिवारले आफूहरूको विवाह स्वीकार नगरेको पासवानको भनाइ छ ।
रुबीको विवाह करिब पाँच वर्ष पहिला भारतका शिव सागर साहसँग भएको थियो । उनकाँ एक चार वर्षीय छोरा समेत छन् । उनी छोरा पढाउन नेपालमा डेरा गरि बसेकी थिइन् ।


