अर्जुन साह,महोत्तरी – महिला कोष एसियाको सहयोग र नेपाल मुस्लिम महिला कल्याण समाजको आयोजनामा मटिहानी नगरपालिका–६ मा आगलागी प्रभावित व्यक्तिहरु सहित स्थानीय नागरिकलाई लक्षित गरी दुई दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
मिति २०८२ भदौ १२ गते मनोवैज्ञानिक परामर्श तथा तनाव व्यवस्थापन र १३ गते जीवन कौशल सम्बन्धी कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा विशेषगरी किशोर–किशोरी तथा महिलाहरुको सक्रिय सहभागिता रहेको थियो।




कार्यक्रमको अध्यक्षता मटिहानी नगरपालिका–६ का वडा अध्यक्ष कालिम अन्सारीले गर्नुभयो। कार्यक्रममा मनोवैज्ञानिक परामर्श तथा तनाव व्यवस्थापन सम्बन्धी सहजीकरण अर्जुन कुमार साहले गर्नुभएको थियो भने जीवन कौशल सम्बन्धी सत्रको सहजीकरण अधिकारकर्मी प्रीति कुमारीले गर्नुभयो।

गत वर्ष मटिहानी नगरपालिका–६ मा भएको आगलागीका कारण प्रभावित व्यक्तिहरु मानसिक आघात, तनाव र असुरक्षाको अवस्थाबाट गुज्रिन बाध्य भएका थिए। सोही अवस्थालाई मध्यनजर गर्दै पीडितहरुको आघात न्यूनीकरण, तनाव व्यवस्थापन, आत्मविश्वास अभिवृद्धि, समुदायमा सहयोगी वातावरण निर्माण तथा मानसिक स्वास्थ्यको महत्वबारे सचेतना जगाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।

कार्यक्रमका क्रममा सहभागीहरुलाई मानसिक तनावबाट मुक्त भई जीवनलाई उपयोगी बनाउन विभिन्न अभ्यास र गतिविधिमार्फत अभिमुखीकरण गरिएको थियो।




