
बर्दिबास । नेपाल रेडक्रस सोसाइटी बर्दिबास उपशाखा (महोत्तरी) ले सल्लाहकारहरुलाई सम्मान गरेको छ । रेडक्रसका सामाजिक गतिविधिमा उदात्तभावले सहयोग गर्दै आउनुभएका १० जनालाई रेडक्रस बर्दिबास उपशाखाले आज बिहीबार अन्तर्राष्ट्रिय श्रमिक दिवसका दिन सम्मान गरेको हो ।

रेडक्रस बर्दिबास उपशाखाबाट यहाँका सामाजिक व्यक्तित्वहरु तुुलसीप्रसाद ढुङ्गाना, चिरञ्जीवी हमाल, उद्धवबहादुर क्षत्री, गुञ्जबहादुर खड्का ,तोपबहादुर ज्यू ठकुरी, विष्णुबहादुर खड्का, शम्भुप्रसाद भट्टराई, हिरालाल गौतम, नागदेव यादव र हर्कबहादुर तामाङ् आज बिहीबार एक समारोहबीच सम्मानित हुनुभएको हो । सम्मानित व्यक्तित्वहरु रेडक्रस बर्दिबास शाखाका सम्मानित सल्लाहकार हुनुहुन्छ । सल्लाहकारहरुलाई रेडक्रस बर्दिबास उपशाखाका सभापति भुवन खड्का, सचिब टीकाबहादुर बस्नेतसहितका पदाधिकारीले दोसल्ला ओढाउँदै कदरपत्र प्रदान गर्नुभयो ।
समारोहमा सम्मानित व्यक्तित्वहरुले मानवीय सेवाका क्षेत्रमा रेडक्रस बर्दिबास उपशाखाका गतिविधिको सराहना गर्नुभयो । भौतिक सुविधा सम्पन्न कार्यालय भवन निर्माणदेखि रक्तसञ्चार केन्द्रको सफल सञ्चालन गरेर लगनपूर्वक काममा लाग्दा असम्भव केही नहुने दृष्टान्त दिएको सम्मानित व्यक्तित्वहरुको कथन छ ।
रेडक्रस बर्दिबास उपशाखाका पूर्वउपसभापति उषा ढकालले सल्लाहकार तथा समारोहका अतिथिहरुको स्वागत गर्नुभयो । समारोह रेडक्रस बर्दिबास उपशाखाका सभापति भुवन खड्काको अध्यक्षतामा सम्पन्न भएको हो ।———