जनकपुरधाम-मधेश प्रदेशमा सरकार गठनको विरोधमा सात दलीय गठबन्धनका सांसदहरू आज पनि धर्नामा बसेका छन् ।
मधेश भवन अगाडि बिहानैदेखि नेपाली कांग्रेस, जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी) र नागरिक उन्मुक्ति पार्टीका सांसदहरू सहितका कार्यकर्ताहरू धर्नामा सहभागी भएका छन् ।
संविधानको धारा १६८ को उपधारा ३ बमोजिम नेकपा (एमाले) का संसदीय दलका नेता सरोजकुमार यादवलाई प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मुख्यमन्त्री नियुक्त गरेपछि प्रदेश राजनीतिक रुपमा तातिएको छ ।
मङ्गलबार साँझ नवनियुक्त मुख्यमन्त्री यादवले मधेश भवनभित्र पदभार ग्रहण गर्न पुगेका बेला बाहिर सात दलीय गठबन्धनका कार्यकर्ताहरूले विरोध प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा प्रहरीले लाठीचार्ज गरेपछि १७ जना घाइते भएका थिए ।
घटनापछि सात दलीय गठबन्धनले आन्दोलनको घोषणा गरेको छ ।
यसबीच, मुख्यमन्त्री नियुक्त गर्ने प्रदेश प्रमुख सुवेदी भण्डारीलाई संघीय सरकारले सिफारिसमार्फत पदमुक्त गरेको र राष्ट्रपति रामचन्द्र पौडेलले सो निर्णय अनुमोदन गरिसकेको छ ।
प्रदेशमा उत्पन्न नयाँ राजनीतिक परिस्थितिले मधेशको सत्ता समीकरण पुनः जटिल बनेको संकेत गरेको राजनीतिक विश्लेषकहरूको भनाइ छ ।


