जनकपुरधाम — मधेस प्रदेशसभामा लामो समयदेखि चल्दै आएको राजनीतिक तनाब आज निर्णायक मोडमा पुगेको छ। सभामुख रामचन्द्र मण्डल विरुद्ध दर्ता भएको ‘पदअनुकूल आचरण नभएको’ प्रस्ताव मत विभाजनको प्रक्रिया मार्फत दुई–तिहाइ बहुमतले पारित भएपछि मण्डल पदमुक्त भएका छन्।
बुधबार प्रस्तुत प्रस्तावमा ७६ सांसदले पक्षमा मतदान गरे भने विपक्षमा कसैले मतदान गरेनन्।। यसैसँग मण्डलको सभामुखको कार्यकाल औपचारिक रूपमा समाप्त भयो।



कार्तिक २७ गते सात दलका ६४ सांसदले सभामुख मण्डलविरुद्ध पदअनुकूल आचरण नगरेको भन्दै औपचारिक प्रस्ताव दर्ता गरेका थिए। प्रस्ताव दर्ता भए पनि सभामुखले बैठक नबोलाएपछि स्थिति थप जटिल बन्यो। यही कारण मंगलबार ३२ सांसदले उपसभामुख बबिता राउत इसरलाई बैठक बोलाउन आग्रह गरे र उनले आज दिउँसो १ बजेका लागि बैठक आह्वान गरिन्।
तर निर्धारित समयमा बैठक सुरु हुन सकेन। कार्यसञ्चालनका लागि जिम्मेवार सचिव अनुपस्थित हुनु र अचानक सभाभित्रै विद्युत् अवरोध हुनुले बैठक दुई घण्टासम्म रोकियो। परिस्थितिलाई मध्यनजर राख्दै बैठक स्थगित गरेर दिउँसो ३ बजेर १० मिनेटमा पुनः बोलाइयो।
प्रदेशसभाका सचिव बासुप्रसाद कोइराला प्रदेशसभामा आएपछि बैठक औपचारिक रूपमा सुरु भयो। तर नेकपा एमालेकी सांसद शारदा देवी थापाले सत्ता पक्षका सांसदहरू उपस्थित नभएको भन्दै नियमावली उल्लंघनको आरोप लगाइन्। उनको आपत्तिपछि बैठक १० मिनेटका लागि पुनः स्थगित गरिएको थियो ।
त्यस पछि पुनः बसेको बैठकमा सभामुख रामचन्द्र मण्डल विरुद्धको प्रस्ताव प्रस्तुत गरियो। प्रस्तावमाथि केही सांसदले समर्थन व्यक्त गर्दै धारणा राखेपछि सभामुख मण्डललाई आफ्नो तर्फबाट स्पष्टिकरण दिने अवसर प्रदान गरिएको थियो। तर सभामुख स्वयं उपस्थित नभएपछि कार्यबिधि अनुसार मत विभाजन प्रक्रिया सुरु गरियो।
अन्ततः, दुई–तिहाइभन्दा धेरै मत प्राप्त गर्दै प्रस्ताव पारित भएको घोषणा गरियो र सभामुख मण्डल पदमुक्त भए।
मधेस प्रदेशमा राजनीतिक विवाद केही समययता तीव्र बन्दै गएको छ। नेपालको संविधानको धारा १६८(३) अनुसार, सबैभन्दा ठूलो दलका तर्फबाट नेकपा एमालेका संसदीय दलका नेता सरोजकुमार यादवलाई प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मुख्यमन्त्री नियुक्त गरेपछि विवाद झन् चर्किएको हो। संघ सरकारले प्रदेश प्रमुख भण्डारीलाई हटाइसकेको छ, जसको प्रभाव प्रदेश राजनीतिमा स्पष्ट देखिएको छ।
आज सभामुखविरुद्धको प्रस्ताव पारीत हुनु मधेस प्रदेशको बदलिँदो राजनीतिक समीकरणको अर्को महत्वपूर्ण अध्यायको रूपमा हेरिएको छ।





