काठमाडौँ – मधेस प्रदेशका डीआईजी गोविन्द थपलियाको कार्यकक्षमा एक जना प्रहरी जवानले हात काट्ने प्रयास गरेका छन्। जानकी प्रहरी चौकीमा कार्यरत जवान रोशन यादवलाई छानबिनका लागी प्रदेश कार्यालयमा झिकाइएको थियो ।
बुधबार छानबिनको नाममा ‘यातना’ दिएपछि आफूले हात काट्ने प्रयास गरेको यादवले बताएका छन्। जनकपुरमा बसेर पत्रकारिता गर्ने एक जना सञ्चारकर्मीसँग जवान यादवले गरेको कुराकानीको अडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको छ ।




धनुषाको जानकी चौकीका इन्चार्ज वरिष्ठ सई सागर शमसेर जबरालाई निलम्बनको प्रक्रिया सुरु गरेपछि छानबिनको लागी जवानलाई पनि ४ दिनअघि प्रदेश कार्यालयमा झिकाइएको थियो ।
सागर शमसेर जबरा र एक जना व्यापारीको बिचमा भएको अडियो कुराकानी सामाजिक सञ्जालमा छताछुल्ल छ । वरिष्ठ प्रहरी नायव निरीक्षक (वरिष्ठ सई) सागर शमसेर ज.ब.रा. सँग कुरा गर्दा ती व्यापारीले डीआईजीको नाममा आफूसँग मासिक ३ लाख र अर्का एक जनाबाट डेढ लाख डीआईजीका घुमुवाले असुल्ने गरेको आरोप लगाएका छन् ।

अडियो संवादमा ती व्यापारी भन्छन्, ‘म सँग जयलाल यादवले ३ लाख लिएर जान्छन्, उमेशकोबाट १ लाख ५० हजार ।’ अडियो प्रकरणबारे छानबिन भइरहेको छ । हात काट्ने प्रयास गरेका जवानले डीआईजी थपलिया र छानबिनमा सहभागी अधिकृतहरूले ‘जबरालाई बोलाउ’ भन्दै टर्चर दिएको बताएका छन्।-रातोपाटी






