जनकपुर । मधेस प्रदेश सरकार गठनको प्रक्रियासँगै मन्त्रालयको भागबन्डा मिलाउन बोलाइएको सर्वदलीय बैठक बिना निष्कर्ष सकिएको छ।
आइतबार बिहान बोलाइएको बैठक मन्त्रालय बाँडफाँडमा सहमति नजुटेपछि छोटो समयमै टुंगिएको हो।
माओवादी केन्द्रका संसदीय दलका नेता भरत साहका अनुसार मन्त्रालय भागबन्डा संवेदनशील विषय भएकाले दलहरूबीच विस्तृत छलफल आवश्यक छ।
तर आजै मुख्यमन्त्री र मन्त्रीहरूको शपथग्रहणको कार्यतालिका भएकाले बैठक चाँडै सकिएको उनले बताए।
“समय अभावका कारण बैठक लामो हुन सकेन,” नेता साहले भने, “शपथग्रहण सम्पन्न भएपछि मन्त्रालयको भागबन्डाबारे फेरि छलफल गरी अन्तिम टुंगो लगाइनेछ।”
दलहरूसँग मन्त्रालय भागबन्डाका विषयमा अझै समन्वय बाँकी रहेकाले दोस्रो चरणको बैठक निर्णायक हुने जनाइएको छ।




