महोत्तरी – महोत्तरी निर्वाचन क्षेत्र नम्बर ४ मा जनता समाजवादी पार्टी (जसपा) नेपालका तर्फबाट सुरेन्द्र कुमार यादवले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन्।
यादव २०७४ सालदेखि यसै निर्वाचन क्षेत्रमा निरन्तर चुनावी प्रतिस्पर्धामा रहँदै आएका छन्। २०७४ को प्रतिनिधिसभा निर्वाचनमा विजयी भएका उनी २०७९ को निर्वाचनमा भने नेपाली कांग्रेसका महेन्द्र कुमार रायसँग पराजित भएका थिए।



उम्मेदवारी दर्तापछि प्रतिक्रिया दिँदै यादवले संघीयता जोगाउन र अधिकारलाई थप संस्थागत गर्न छाता छापलाई जिताउन सबै मतदातालाई आग्रह गरे। उनले मधेस आन्दोलनका उपलब्धि संरक्षण र संघीय संरचनाको सुदृढीकरणमा जसपा नेपालको भूमिका निर्णायक रहेको दाबी गरे।
यसैगरी, जसपा नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच एकीकरण भइसकेको सन्दर्भ उल्लेख गर्दै उनले यसले महोत्तरी–४ मा पार्टीको संगठनात्मक पकड अझ मजबुत बनाएको बताए। गठबन्धन र एकीकरणका कारण यस क्षेत्रबाट सकारात्मक नतिजा आउनेमा आफू विश्वस्त रहेको उनको भनाइ छ।




