तेहरान । दक्षिणी इरानको मिन्दाब काउन्टीस्थित एक छात्रा विद्यालयमा भएको भनिएको आक्रमणमा मृत्यु हुनेको संख्या कम्तीमा ६३ पुगेको स्थानीय गभर्नरले बताएका छन् ।
मिन्दाबका गभर्नर मोहम्मद रदमेहरका अनुसार उक्त घटनामा ९२ जना घाइते भएका छन् भने केही विद्यार्थी अझै भग्नावशेषमुनि फसेको आशंका गरिएको छ ।
इरानका विदेशमन्त्री अब्बास अराघचीले माइक्रो ब्लगिङ वेबसाइट एक्समामा लेख्दै दक्षिणी इरानको उक्त प्राथमिक छात्रा विद्यालयमा दिनदहाडै, बालबालिकाले भरिएको बेला बम प्रहार गरिएको भनेका थिए ।
यस विषयमा प्रतिक्रिया दिँदै अमेरिकी सेनाको सेन्ट्रल कमाण्ड (सेन्टकम)का प्रवक्ता टिम हकिन्सले नागरिक क्षतिसम्बन्धी रिपोर्टहरूबारे आफूहरू जानकार रहेको बताएका छन् । उनले भने, ‘हामी यी रिपोर्टहरूलाई गम्भीर रूपमा लिन्छौँ र छानबिन गरिरहेका छौँ । नागरिकको सुरक्षा अत्यन्त महत्वपूर्ण छ र अनपेक्षित क्षति कम गर्न उपलब्ध सबै सावधानी अपनाइरहनेछौँ ।’
उक्त घटनाबारे प्रतिक्रिया लिन सीएनएनले इजरायली सेनासँग पनि सम्पर्क गरेको जनाएको छ । घटनाका विवरणहरू स्वतन्त्र रूपमा पुष्टि हुन बाँकी रहेको समाचारमा उल्लेख छ ।







