महोत्तरी – प्रतिनिधि सभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, स्वच्छ र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यले महोत्तरीस्थित भारतीय सीमासँग जोडिएको भिठामोड नाका आज मध्यरातिदेखि अस्थायी रूपमा बन्द गरिएको छ ।
निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै भारतीय सुरक्षा निकायसँगको समन्वय तथा समझदारीमा फागुन १८ गते मध्यरातिदेखि लागू हुने गरी नाका बन्द गरिएको जिल्ला सुरक्षा निकायले जनाएको छ । उक्त निर्णय फागुन २१ गते राति १२ बजेसम्म कायम रहनेछ ।



दुवै देशका सुरक्षा अधिकारीबीच भएको सहमतिअनुसार निर्वाचन अवधिभर सीमा आवतजावत नियन्त्रण गरिएको हो । बन्द अवधिमा एम्बुलेन्स, दमकल, शववाहनलगायत अत्यावश्यक मानवीय सेवाबाहेक अन्य सवारीसाधन तथा पैदल यात्रुको आवागमनमा रोक लगाइएको प्रहरीको भनाइ छ ।
खुला सीमाका कारण निर्वाचनका समयमा हुन सक्ने अवाञ्छित गतिविधि नियन्त्रण गर्न सीमावर्ती क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ । सुरक्षा निकायले विशेष सुरक्षा कार्ययोजना कार्यान्वयनमा ल्याई गस्तीसमेत तीव्र पारेको जनाएको छ ।
यसैबीच, मिथिला मध्यमा परिक्रमा अन्तर्गत अन्तगृह परिक्रमामा सहभागी भई भारत फर्कने भारतीय श्रद्धालुहरूका लागि वैकल्पिक मार्गको व्यवस्था गरिएको छ । भारतबाट नेपाल प्रवेश गर्ने आवतजावत भने पूर्ण रूपमा बन्द गरिएको सुरक्षा स्रोतले जनाएको छ ।





