महोत्तरी- महोत्तरी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार प्रमोद कुमार महतो विजयी हुनुभएको छ।
निर्वाचनको अन्तिम मतपरिणामअनुसार महतोले ३४ हजार ६३६ मत प्राप्त गर्नुभएको हो। उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार गिरिराजमणि पोखरेलले १२ हजार ६२४ मत प्राप्त गर्नुभएको छ।



विजयपछि पत्रकारहरूसँग कुरा गर्दै महतोले यो जित व्यक्तिगत नभई जनताको परिवर्तनको जित भएको बताउनुभयो। उहाँले क्षेत्रका ३० वटै वडाका मतदाताप्रति धन्यवाद व्यक्त गर्दै जनताको विश्वासलाई व्यवहारमा उतार्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
उहाँले भन्नुभयो, “यस क्षेत्रमा एक लाखभन्दा बढी मतदाता छन्। म सबै जनताको दुःख–सुखमा साथ दिनेछु र जनताको अपेक्षाअनुसार काम गर्नेछु।”
महतोले यस क्षेत्रको कृषि विकास तथा बेरोजगारी समस्याको समाधानलाई प्राथमिकतामा राखेर काम गर्ने बताउनुभयो। साथै, क्षेत्र नम्बर १ मा देखिएको क्रसर उद्योगसँग सम्बन्धित समस्याबारे पनि आफू गम्भीर रहेको उल्लेख गर्नुभयो।
“म पहिले क्रसर व्यवसायमा संलग्न थिएँ, तर अहिले छैन। यस क्षेत्रमा देखिएको क्रसर आतंक अन्त्यका लागि आवश्यक पहल गर्नेछु,” उहाँले भन्नुभयो।
त्यसैगरी चुरे क्षेत्रमा भइरहेको दोहनप्रति चिन्ता व्यक्त गर्दै यसको संरक्षणका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता पनि उहाँले जनाउनुभयो।
“म जनताको छोरा हुँ। जसरी एउटा छोरालाई आफ्नो परिवारप्रति माया हुन्छ, त्यसैगरी मलाई आफ्नो क्षेत्रप्रति माया छ। यदि हामी जनताको विश्वासमा खरो उत्रिन सकेनौँ भने जनताले हामीलाई पनि अस्वीकार गर्नेछन्,” उहाँले भन्नुभयो।




