जनकपुरधाम । मधेश प्रदेशको राजधानी समेत रहेको जनकपुरधामको स्वच्छ, सुन्दर र सफा शहर बनाउने अभियानमा मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानून मन्त्रालय सक्रिय भएको छ ।
मन्त्रालयको आयोजनामा आज जनकपुरधाममा सर्वपक्षीय वैठकको आयोजना गरेर विश्वका हिन्दूहरुको आस्थाको केन्द्रको रुपमा रहेका यहाँका ऐतिहासिक तथा धार्मिक सम्पदाहरुको संरक्षण सहित सडक, फूटपाथ, फोहर तथा ट्राफिक व्यवस्थापन तीनै तहका सरकारका बीचमा अधिकतम समन्वय तथा सहकार्यमा जोड दिईएको हो ।
कार्यक्रममा मधेश प्रदेशका गृह, सञ्चार तथा कानूनमन्त्रीले मधेश प्रदेशको राजधानी जनकपुरधामलाई विश्वका पर्यटकहरुको लागि आकर्षकको केन्द्र बनाउने सहितको कार्ययोजना कार्ययोजना सहितको रणनीति सर्वपक्षीय वैठकमा पेश गर्नु भएको थियो।
उहाँले जनकपुरधामको मठमंन्दिर, पोखरी संरक्षण सहित फूटपाथ, सरसफाई, सडक शौन्दर्यीकरण, ट्राफिक व्यवस्थापन, ई–रिक्साको व्यवस्थापन, हरियाली प्रवद्र्धन तथा नगरको शौन्दर्यीकरणको विविधपक्षहरु समेटिएको कार्ययोजना पेश गर्नु भएपछि त्यसैमा आधारित भएर तीनै तहका सरकारका प्रतिनिधिहरुले गहन फलफल गर्नु भएको छ ।
कार्यक्रममा बोल्दै मधेश प्रदेशका श्रम तथा यातायातमन्त्री मनिष कुमार सुमनले मधेश प्रदेशका जिल्लाहरुमा करिव ८४ हजारको संख्यामा ई–रिक्सा रहेको बताउदै ई–रिक्सालाई व्यवस्थित गर्नका लागि कानून निर्माणको तयारीमा मन्त्रालय रहेको बताउनु भयो ।
उहाँले मधेशमा जनचेतनाको अभाव भएका कारणले आफ्नो घरको फोहर सहि सिकमिले व्यवस्थापन गर्न नसकेको कारणले नगर अव्यवस्थित बन्नुका साथै फूटपाथको व्यवस्थापनमा व्यापारिहरु नै अग्रसरता नलिदा अक्रिमणको मात्रा बढ्ने गरेको बताउनु भयो ।
धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुईटेलले जनकपुरधामको बढ्दो जनसंख्या बाहिरवाट आउने तीर्थयात्रीको संख्या तथा शहरी क्षेत्रको बढ्दो चाँपका कारणले नगरको व्यवस्थापनमा चुनौति देखिएको बताउदै नगर प्रहरीको संख्यामा पाँच ग्ुणाले बृद्धि गर्नका लागि सुझाव दिनु भयो ।
जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीले फूटपाथको व्यवस्थापनका लागि सुरक्षा निकाय, व्यवसायी तथा नगरपालिका मिलेर काम गर्नु पर्ने सुझाव दिनु भयो । चेम्बर अफ कमर्सका उपाध्यक्ष एवं यूवा अभियन्ता सरोज कुमार मिश्रले जनकपुरधामको मूल समस्याको रुपमा रहेको ट्राफिक, फूटपाथ तथा ई–रिक्साको व्यवस्थापन नै चुनौतिपूर्ण भएको बताउदै २०७९ सालमा उपमहानगरपालिकाले प्रकाशित रापत्र कार्यान्वयन हुनु पर्नेमा जोड दिनु भयो ।
जनकपुरधाम उपमहानगरपालिकाका वडाध्यक्षहरुले उपमहानगरपालिकाको फोहर व्यवस्थापनको सवै भन्दा ठूलो चुनौति नै ल्याण्डफिल साईट तथा साधन श्रोतको अभाव हुनु नै भएको बताउनु भयो । कार्यक्रममा श्रम तथा यातायातमन्त्रालयका सचिव युवराज अधिकारी, उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयका सचिव जय कुमार घिमिरे, भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव संजय प्रसाद साह, ई–रिक्सा व्यवसायी यूनियनका केन्द्रीय अध्यक्ष विरेन्द्र कुमार महतो सहितकाले बोल्नु भएको थियो ।







