जनकपुर – धनुषाको बटेश्वर गाउँपालिका–५, शान्तिपुर–दनुवारटोलमा ९ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा ५३ वर्षीय ओपेन्द्र सिंह दनुवार पक्राउ परेका छन्। घटना गत बिहीबार भएको हो।



पीडित परिवारले शनिबार इलाका प्रहरी कार्यालय सखुवा, महेन्द्रनगरमा जाहेरी दिएपछि प्रहरीले दनुवारलाई नियन्त्रणमा लिएको थियो।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार, पक्राउ परेका आरोपितको स्वास्थ्य परीक्षण गराइसकिएको छ र घटनाबारे थप अनुसन्धान भइरहेको छ। बालिकाको स्वास्थ्य अवस्था र घटनाका अन्य विवरणबारे प्रहरीले सार्वजनिक जानकारी दिएको छैन।
प्रहरीले यस प्रकारका घटनामा कडाइका साथ अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउने बताएको छ।




