- शर्मिला घिमिरे
महोत्तरी । बर्दिबास नगरपालिकाद्वारा फरक फरक १० किसिमका श्रम गर्ने बीस जना महिलाहरूलाई महिला अधिकार दिवसको दिन पारेर सम्मान कार्यक्रम गर्ने भएको छ। नगरपालिकाको सभाहलमा भएको उक्त कार्यक्रममा बोल्दै नगरपालिकाका उपप्रमुख तारादेवी महतोले जेठ १६ गते एक कायक्रमको आयोजना गरी सम्मान गर्ने जानकारी गराउनुभएको हो ।
कार्यक्रमका प्रमुख अतिथि मधेस प्रदेशका पूर्व शिक्षा तथा राज्यमन्त्री माननीय शारदा देवी थापाले श्रमको सम्मान गर्ने प्रथाले श्रम गर्न प्रोत्साहन मिल्ने बताउँदै श्रमिक महिलाहरूको चयन गर्दा कस्ता महिलाहरूलाई उद्देश्य भित्र पार्ने हो त्यो विचार पुर्याउनुपर्ने बताउनुभयो।यो कार्यक्रमले महिलाहरूलाई प्रोत्साहन गर्दै आत्मनिर्भर बनाउन सिकाउने बताउनुभयो।
कार्यक्रममा उपप्रमुख महतोको संयोजकत्वमा पाँच सदस्य श्रमिक महिला छनोट समिति गठन गरिएको छ। समितिमा संयोजक महतो लगायत महिला अधिकारकर्मी उर्मिला कार्की, सञ्चारकर्मी शर्मिला घिमिरे ,सामाजिक अभियन्ता उषा ढकाल , बर्दिबास नगरपालिकाका महिला तथा बालबालिका शाखाकी अधिकृत सिता अधिकारी रहेका छन् ।
समितिले नगरपालिका भित्रका फरकफरक १० किसिमका क्षेत्रमा श्रम गर्ने महिलाहरूको पहिचान गर्ने छ । निम्न आय भएका श्रममा आश्रित महिलाहरूलाई उनीहरूको कामको दक्षता र लगनशीलताका आधारमा पुरस्कारका लागि छनोट गर्नेछ। गिट्टी कुट्ने, दाउरा बेच्ने ,इट्टा बोक्ने, अटो चलाउने, ठेला व्यापारी, होटलमा भाडा माज्ने ,मकै पोल्ने , सरसफाई काम गर्ने (रोड सरसफाई)मिस्त्री काम गर्ने र अस्पतालमा स्वीपर जस्ता क्षेत्रमा काम गर्ने महिला श्रमिकहरूको छनोट गर्ने कार्यक्रमका अध्यक्ष तथा समितिका संयोजक महतोले जनाउनुभयो।
कार्यक्रममा नगर पालिकाका प्रमुख प्रशासकीय अधिकृत राममणि अधिकारी ,समाजसेवी शारदा दाहाल, सामाजिक संस्थाका प्रतिनिधि लगायत सरोकारवाला तथा अधिकारकर्मीहरूको उपस्थिति रहेको थियो।







