महोत्तरी – गत मंगलबार बिहान एसइई परीक्षा सकेर फर्किँदै गरेका युवाहरू सवार मोटरसाइकल दुर्घटनामा परी तीन जनाको ज्यान गएको तथा तीन जना घाइते भएको घटनाका घाइतेहरूको उपचार अवस्थाबारे जानकारी लिन प्रतिनिधिसभाकी उपसभामुख रुवी कुमारी ठाकुर ले काठमाडौंस्थित ट्रमा सेन्टरमा पुगेर भेट गर्नुभएको छ। उपसभामुख ठाकुरले उपचाररत घाइतेहरू तथा उनीहरूका कुरुवासँग भेटघाट गर्दै चिकित्सक टोलीसँग स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको थियो।
उहाँले घाइतेहरूको प्रभावकारी उपचारका लागि चिकित्सकहरूलाई आवश्यक पहल गर्न आग्रह गर्नुभयो। उपसभामुख ट्रमा सेन्टर पुग्नुभएपछि अस्पताल प्रमुखले संस्थाको वर्तमान अवस्थाबारे जानकारी गराउनुभएको थियो। उहाँका अनुसार अस्पतालमा बिरामीको चाप अत्यधिक रहेको, साथै आईसीयू बेड तथा भेन्टिलेटरको अभाव रहेकोले सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन आवश्यक उपकरणहरूको व्यवस्था गर्नुपर्ने आवश्यकता औँल्याइएको थियो। यस अवसरमा उपसभामुख ठाकुरले घाइतेका आफन्तजनलाई धैर्य धारण गर्न आग्रह गर्दै सान्त्वना दिनुभएको थियो। उहाँले ट्रमा सेन्टरमा उपचाररत अन्य बिरामीहरूको अवस्थाबारे पनि जानकारी लिनुभएको थियो।



महोत्तरी सडक दुर्घटनामा घाइते भएका एकडारा गाउँपालिका–५ गेना बथनाहा निवासी रामबरन कापरका २० वर्षीय छोरा जयकुमार कापरलाई प्रारम्भमा प्रादेशिक अस्पताल जनकपुरमा भेन्टिलेटरमा राखी उपचार गरिएको थियो। स्वास्थ्य अवस्थामा सुधार नआएपछि स्थानीय युवाहरूको सहयोगमा आर्थिक संकलन गरी उनलाई शनिबार ट्रमा सेन्टरमा भर्ना गरिएको हो। उक्त दुर्घटनामा घाइते जलेश्वर नगरपालिका–६ निवासी १९ वर्षीय अभय कापर पनि ट्रमा सेन्टरमै उपचाररत छन्। उनको देब्रे खुट्टा भाँचिएको र टाउकोमा रगत जमेको बताइएको छ।
यसैगरी, सोही घटनामा घाइते जलेश्वर नगरपालिका–६ धवौली निवासी १९ वर्षीय रोहित दासको जनकपुरस्थित स्वस्तिक अस्पतालमा उपचार भइरहेको छ। गत मंगलबार महोत्तरीको एकडारा गाउँपालिका–५ गेना बथनाहा र जलेश्वर नगरपालिका–७ बखरीको सिमाना क्षेत्रमा पर्ने जलेश्वर–बर्दिवास सडकखण्डमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा आगलागी भएको थियो। उक्त दुर्घटनामा जलेश्वर नगरपालिका–६ साहुजीपट्टी का १९ रवि दास, सोही स्थानका १९ वर्षीय शुभाष दास र एकडारा गाउँपालिका–३ अजमरपट्टी निवासी २२ अभिषेक मण्डलको जलेर मृत्यु भएको थियो।




