जनकपुरधाम – मधेस प्रदेशमा यस वर्ष आँप उत्पादन अपेक्षाभन्दा कम हुने संकेत देखिएको छ । प्रारम्भिक चरणमा अत्यधिक फूल लागेकाले उत्पादन दोब्बर हुने अनुमान गरिए पनि वैशाखको सुरुवातमै आएको तीव्र हावाहुरीले ठूलो क्षति पुर्याएको छ ।
भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका अधिकृत रवि बस्नेतका अनुसार यस वर्ष आँपका बोटहरूमा विगतको तुलनामा निकै राम्रो फूल लागेको थियो । किसानहरू उत्साहित थिए भने सम्बन्धित निकायले समेत उत्पादनमा उल्लेख्य वृद्धि हुने अपेक्षा गरेका थिए ।



तर, मौसमको प्रतिकूलताले सबै अनुमान उल्ट्यादियो । वैशाखको सुरुवातमै आएको हावाहुरीले अधिकांश मञ्जरी झारिदिएपछि उत्पादनमा ठुलो गिरावट आउने निश्चितजस्तै भएको केन्द्रले जनाएको छ ।

आर्थिक वर्ष २०८१/०८२ मा मधेस प्रदेशमा आँप उत्पादन औसत १२.९४ प्रतिशत थियो । जिल्लागत रूपमा हेर्दा धनुषामा १२.८४ प्रतिशत, सिरहामा १२.९२ प्रतिशत, महोत्तरी र सर्लाहीमा १३.१२ प्रतिशतका दरले उत्पादन भएको थियो । त्यसैगरी रौतहटमा १२.९९ प्रतिशत, बारामा १३.४४ प्रतिशत र पर्सामा १३.२२ प्रतिशत उत्पादन भएको तथ्यांक केन्द्रसँग छ ।
अधिकृत बस्नेतले भने, ‘हामीले यस वर्ष मनग्य आँप उत्पादन हुने लक्ष्य राखेका थियौँ, तर हावाहुरीले ठुलो क्षति गर्यो । अहिलेको अवस्थामा गत वर्षको तुलनामा पाँचदेखि १० प्रतिशतसम्म मात्र वृद्धि हुने अनुमान गर्न सकिन्छ ।’

किसानहरू पनि मौसमको मारबाट निराश बनेका छन् । विशेषगरी मधेसका आम किसानहरूको मुख्य आम्दानीमध्ये आँप खेती पनि एक भएकाले उत्पादन घट्दा आर्थिक असर पर्ने देखिएको छ ।
किसानहरूले समयमै मल, सिँचाइ र संरक्षणका उपाय अपनाए पनि प्राकृतिक विपत्तिको सामना गर्न नसकेको बताएका छन् ।
_PMNpv4yGww.jpg)
कतिपय किसानले बोटमा लागेका अधिकांश फूल झरेपछि फल लाग्ने सम्भावना निकै कम भएको गुनासो गरेका छन् । धनुषाको बटेश्वर गाउँपालिकाका किसान राजकुमार महतोका अनुसार जिल्लामै सबैभन्दा बढी आँप खेती यही पालिकामा हुने गरेको छ । ‘मनग्य उत्पादन हुँदै आएकै कारण हामीले हरेक वर्ष आँप मेलासमेत आयोजना गर्दै आएका छौँ,’ उनले भने, ‘तर यस वर्ष भने अपेक्षाभन्दा कम उत्पादन हुने देखिएको छ । हावाहुरीले सबै सपनामाथि तुषारापात गरिदियो ।’ यद्यपि उनले अहिले पनि किसानहरू उत्पादन जोगाउन दिनरात खटिरहेको बताए । ‘सोचेअनुसार उत्पादन गर्न हामी अझै प्रयासरत छौँ,’ उनले थपे ।
आँपमा लाग्ने डढुवा रोग नियन्त्रणका लागि प्रदेशभर औषधि व्यवस्थापन गरिएको केन्द्रले जनाएको छ । सामान्यतया मजर लागेपछि रोगको जोखिम बढ्ने भएकाले पूर्वतयारी गरिएको भए पनि यस वर्ष रोग लाग्नु अगावै हावाहुरीले क्षति पुर्याएको हो । केन्द्रका अनुसार यदि मौसम अनुकूल भएको भए यस वर्ष उत्पादन ऐतिहासिक रूपमा वृद्धि हुने सम्भावना थियो ।

कृषि ज्ञान केन्द्र धनुषाका प्रमुख रामचन्द्र यादवका अनुसार पछिल्ला वर्षहरूमा मौसमको अनियमितता बढ्दै गएको छ, जसको प्रत्यक्ष असर कृषि क्षेत्रमा देखिन थालेको छ ।
_jPuidESVls.jpg)
विशेषगरी मधेस प्रदेशजस्ता समथर र कृषि प्रधान क्षेत्रमा हावाहुरी, असिना पानी तथा अत्यधिक तापक्रमका कारण बालीमा नोक्सानी हुने क्रम बढ्दो छ । यसले किसानहरूको उत्पादन मात्र नभई समग्र अर्थतन्त्रमा समेत असर पार्ने सम्भावना रहन्छ ।
यस्ता समस्यालाई समाधान गर्न दीर्घकालीन रणनीति आवश्यक रहेको उनको सुझाव छ । बाली बीमा, मौसम पूर्वानुमान प्रणालीको सुदृढीकरण, तथा किसानलाई समयमै सूचना र प्रविधि उपलब्ध गराउने व्यवस्था गर्न सके क्षति न्यून गर्न सकिने उनको भनाइ छ ।
साथै, आँपका बोटलाई हावाहुरीबाट जोगाउन आधुनिक प्रविधि तथा संरक्षण विधि अपनाउनुपर्ने आवश्यकता औँल्याइएको छ ।
विगतका वर्षहरूको तुलनामा यस वर्ष आँपको उत्पादन बढ्ने र बजारमा मूल्य सस्तो हुने अपेक्षा गरिएको थियो । तर लक्ष्यअनुसार उत्पादन नहुने संकेत देखिएपछि यस वर्ष पनि आँपको मूल्य बजारमा महँगै रहने स्थानीयहरूको भनाइ छ ।

जनकपुरधामको बजारमा भारतीय आँप समयभन्दा पहिले नै प्रवेश गरिसकेको छ । औषधि प्रयोग गरी जबरजस्ती पकाइएका यस्ता आँप स्वास्थ्यका लागि हानिकारक हुन सक्ने भन्दै स्वास्थ्यकर्मीहरूले सचेत रहन आग्रह गरेका छन् ।
विगतका वर्षहरूको तुलनामा यस वर्ष आँपको उत्पादन बढ्ने र बजारमा मूल्य सस्तो हुने अपेक्षा गरिएको थियो । तर लक्ष्यअनुसार उत्पादन नहुने संकेत देखिएपछि यस वर्ष पनि आँपको मूल्य बजारमा महँगै रहने स्थानीयहरूको भनाइ छ ।-रातोपाटी




