सुजाता राई
विराटनगर । छन्द वाटिका नेपाल विराटनगरको आयोजनामा वरगाछी बहुउद्देश्यीय सहकारी संस्थाको सभाकक्षमा सम्पन्न कार्यक्रममा कवि लोचन रिजालद्वारा रचित खण्डकाव्य ‘भोगाइ’ लोकार्पण गरिएको छ।
संस्थाका अध्यक्ष हरि कट्टेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्राज्ञ विवश पोखरेल प्रमुख अतिथिका रूपमा उपस्थित थिए। विशिष्ट अतिथिमा गंगा सुवेदी, प्राज्ञ खेम नेपाली, अग्रज साहित्यकार बलराम पोखरेललगायत सहभागी रहे। अतिथिहरू र सर्जक पक्षको संयुक्त उपस्थितिमा कृतिको सार्वजनिक गरिएको हो।
कृतिमाथि समीक्षक बाबुराम पोखरेलले टिप्पणी प्रस्तुत गर्दै काव्यमा प्रेम र राष्ट्रभावको सशक्त अभिव्यक्ति रहेको उल्लेख गरे। समालोचक प्राध्यापक कविराज पोखरेलले यसले समाजको यथार्थ चित्रण गरेको धारणा राखे। प्राज्ञ खेम नेपालीले सुकुम्बासी पात्रको पीडालाई प्रभावकारी ढंगले प्रस्तुत गरिएको बताए।
अध्यक्ष कट्टेलले मन्तव्य दिँदै कृति आकारमा सानो देखिए पनि विषयवस्तु र प्रस्तुतीका दृष्टिले पूर्ण खण्डकाव्य बनेको धारणा राखे। सामाजिक परिवेशमा आधारित स्वैरकाल्पनिक रचना भएकाले पाठकलाई गहिरो प्रभाव पार्ने विश्वास व्यक्त गरे।
प्रमुख अतिथि पोखरेलले राम्रा कथा लेख्ने लोचन रिजाल कवितामा पनि सशक्त देखिदै गएका र यो कृति त्यसको प्रमाण भएको बताए।
समारोहमा बलराम पोखरेल, गङ्गा सुवेदी र केशु विरहीले सर्जकलाई शुभकामना व्यक्त गरे। सुनसरी र मोरङका साहित्यकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको कार्यक्रममा ‘भोगाइ’ कविको छैटौँ कृति रहेको जनाइएको छ। कृति छन्द वाटिका नेपालले प्रकाशन गरेको हो।
कार्यक्रममा साहित्यकार निर्मला कोइरालाले स्वागत मन्तव्य राखिन् भने सञ्चालन संस्थाका सचिव चिरञ्जीवी काफ्लेले गरेका थिए।







