महोत्तरी – महोत्तरीको औरही नगरपालिका–१ स्थित औरही बजारमा मुसहर–माझी समुदायका महिलाहरू घोङी बिक्रीका लागि ग्राहकको प्रतीक्षामा देखिन्छन्। स्थानीय पोखरी, ताल–तलैया तथा सिमसार क्षेत्रमा पाइने घोङी उनीहरूको जीविकोपार्जनको प्रमुख आधार बनेको छ।
हरेक मङ्गलबार र शुक्रबार लाग्ने साप्ताहिक बजारमा मुसहर समुदायका पुरुष तथा महिलाहरू बिहानैदेखि गाउँघर र सिमसार क्षेत्रबाट संकलन गरिएको घोङी बोकेर बजार पुग्ने गर्छन्। सडक किनारमै घोङीका थुप्रा राखेर बिक्री गर्ने दृश्य बजारको सामान्य पहिचान बनेको छ।




स्थानीयवासी नागेन्द्र यादवका अनुसार घोङी स्वादिलो मात्र नभई पोषणयुक्त खाद्य पदार्थ पनि हो। यसमा प्रोटिन, आइरन तथा अन्य आवश्यक पोषक तत्व प्रशस्त पाइने भएकाले स्वास्थ्यका लागि लाभदायक मानिन्छ।
ग्रामीण क्षेत्रमा थारु, दनुवार, मुसहर लगायत समुदायमा घोङीलाई परम्परागत तथा पौष्टिक खानाका रूपमा उपभोग गर्ने चलन अझै कायम छ। पछिल्लो समय अन्य समुदायका मानिसहरूले समेत रुचिपूर्वक घोङीको सुप बनाएर खाने गरेका छन्।
घोङी बिक्रीबाट प्राप्त आम्दानीले दैनिक घरखर्च चलाउन सहयोग पुगेको मुसहर समुदायका महिलाहरू बताउँछन्। कृषि मजदुरी तथा अन्य अस्थायी काममा निर्भर यस समुदायका लागि घोङी संकलन र बिक्री आयआर्जनको सहज माध्यम बनेको उनीहरूको भनाइ छ।
बजारमा घोङीको माग बढ्दै गएपछि मुसहर–माझी समुदाय उत्साहित बनेको छ। सिमसार क्षेत्रको संरक्षण र स्थानीय परम्परागत खाद्य संस्कृतिसँग जोडिएको घोङी व्यापारले ग्रामीण अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पारिरहेको स्थानीयवासीको भनाइ छ।




