महोत्तरी — महोत्तरीमा तस्करीको आशंकामा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएर भन्सार कार्यालय बुझाएको एक पिकअप गाडी पुनः चाइनिज स्याउ तस्करीमै प्रयोग भएको खुलासा भएपछि भन्सार कार्यालय, तस्कर र बिचौलियाबीचको सम्भावित मिलेमतोमाथि गम्भीर प्रश्न उठेको छ।
मलिवाडा भिठामोड भन्सार कार्यालयले केही दिनअघि मुद्दा नै नचलाइ फिर्ता गरेको प्र–१–०४–००१ च ०४१४ नम्बरको पिकअप फेरि चाइनिज स्याउ लोड गरी भारत प्रवेश गरिरहेको अवस्थामा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले नियन्त्रणमा लिएको हो। भारतको सिरसिया डिमाही क्षेत्रस्थित पिलर नम्बर ३१० नजिक सिमा सुरक्षा बल ५१ बटालियनले गाडी र तस्करीका सामानसहित नियन्त्रणमा लिएको जनाएको छ।



यसअघि सशस्त्र प्रहरी बल महोत्तरीले गत १९ गते राति इटहर्बाकट्टी नाकाबाट तीन वटा पिकअप नियन्त्रणमा लिएको थियो। ती गाडीमा करिब ६ हजार किलो चाइनिज स्याउ रहेको र सामानको मूल्य ४१ लाख ७० हजार ५ सय रुपैयाँ बराबर रहेको प्रहरी प्रतिवेदनमा उल्लेख थियो। प्रारम्भिक अनुसन्धानमा उक्त सामान भन्सार छल्दै भारततर्फ लैजान खोजिएको देखिएको थियो। प्रहरी पुगेपछि चालकहरू गाडी छाडेर फरार भएका थिए।
सशस्त्र प्रहरीले नियन्त्रणमा लिएर बुझाएको सामानमाथि भन्सार कार्यालयले लिलामी सूचना समेत निकालेको थियो। तर, सोही दिन केही घण्टामै मुद्दा नचलाउने निर्णय गर्दै सामान र गाडी फिर्ता गरिएको थियो।
स्थानीयका अनुसार सुरुदेखि नै केही बिचौलियाको सक्रियतामा भन्सार कार्यालयबाट गाडी छुटाइएको चर्चा हुँदै आएको थियो। अहिले सोही गाडी फेरि तस्करीमा संलग्न अवस्थामा पक्राउ परेपछि भन्सार कर्मचारी, तस्कर र बिचौलियाबीच मिलेमतो रहेको आशंका थप बलियो बनेको छ।घटनापछि स्थानीय नागरिक तथा विभिन्न राजनीतिक दलहरूले निष्पक्ष छानबिन गरी संलग्नमाथि कडा कारबाही गर्न माग गरेका छन्।




