सुजाता राई
मोरङ विराटनगर स्थित जेष्ठ नागरिक भवनको सभा हलमा सोमबार डा. नरेन्द्र चापागाई स्मृति भाषा साहित्य, युवा साहित्य तथा न्यौपाने कला सम्मान समर्पण कार्यक्रम भव्यताका साथ सम्पन्न भयो।
संस्थाकी अध्यक्ष सरला चापागाईको अध्यक्षता र भाषा संस्कृतिविद् प्रा.डा. भीम खतिवडाको प्रमुख आतिथ्यमा आयोजित उक्त कार्यक्रममा तीनजना स्रष्टाहरूलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको हो।




सम्मानित स्रष्टाहरूमा— साहित्यकार डा. सुशिला भण्डारी कोइराला, साहित्यकार कवि रोहिणी रसिक तथा गायक संगीतकार प्रवलदीप विश्वास रहेका छन्। प्रत्येक स्रष्टालाई जनही नगद रु. ५१ हजार, २५ हजार र १०,५०० सहित सम्मानपत्र र दोसल्लाले सम्मान गरिएको थियो। उक्त पुरस्कार संस्थाले प्रत्येक वर्ष फरक साहित्यकार तथा संगीतकारहरूलाई योगदानको आधारमा प्रदान गर्दै आइरहेको संस्थाका अध्यक्षले बताउनुभयो।

कार्यक्रममा कवि तथा साहित्यकार मधु पोख्रेल, कविराज न्यौपाने, प्राडा बद्री विशाल पोखरेल, तिर्थेन्द्र न्यौपाने, माधवप्रसाद शिवाकोटी, प्राज्ञ गंगा सुवेदी, अनुराधा सुवेदी, प्राज्ञ विवश पोखरेल, बाबुराम पोखरेल, कविता केसरी, भगवती कोइराला, बिमला श्रेष्ठ, भवानी पोखरेल, प्रज्ञा खेम नेपाली, डा. देवी पन्थी, चिरञ्जीवी दाहाल, कृष्णराज कोइराला, नवराज पोखरेल नवशिला , भरत बर्बरिक गुरागाईं, प्रिन्स प्रमोद ढकाल लगायत छ दर्जन भन्दा बढी साहित्यकारहरूको उपस्थिति रहेको थियो।
उपस्थित सम्पूर्ण व्यक्तित्वहरूलाई संस्थाका सदस्य साहित्यकार कविता केसरीले स्वागत मन्तव्य दिँदै स्वागत गरेकी थिइन् भने कार्यक्रमको सञ्चालन संस्थाका महासचिव दिङ्लाली कान्छो (दिनेशराज सुवेदी)ले गरेका थिए।




