महोत्तरी – नेपाली कांग्रेसका केन्द्रीय सभापति गगनकुमार थापाले पार्टीका नेता–कार्यकर्तालाई नागरिकका समस्या र दुःखमा प्रत्यक्ष रूपमा साथ दिन निर्देशन दिएका छन् ।
महोत्तरीको बर्दिबासमा बुधबार नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजित मधेश प्रदेशस्तरीय प्रदेश तथा स्थानीय तह केन्द्रित परामर्श, कार्यशाला तथा भेलालाई सम्बोधन गर्दै सभापति थापाले कांग्रेस सत्तामा नरहे पनि जनताको पक्षमा उभिने प्रमुख राजनीतिक शक्ति भएको बताए ।



उनले अन्याय, विभेद तथा नागरिकमाथि हुने ज्यादतीका विषयमा पार्टी संरचना मौन बस्न नहुने उल्लेख गर्दै सीमा क्षेत्रमा देखिएका समस्या, सार्वजनिक तथा वन क्षेत्र अतिक्रमणजस्ता विषयमा कांग्रेस जनताको आवाज बन्नुपर्ने धारणा राखे ।
नागरिकमाथि जबर्जस्ती व्यवहार गरी रातारात डोजर चलाएर विस्थापित गर्ने प्रवृत्तिले सामाजिक सम्मानमा चोट पुग्ने भन्दै उनले यस्ता अभ्यासको विरोध गर्नुपर्नेमा जोड दिए ।
“नागरिकका दुःखमा हामी साथमा छौं कि छैनौं भन्ने कुरा महत्वपूर्ण हुन्छ,” सभापति थापाको भनाइ उद्धृत गर्दै उनले भने, “गलत अभ्यास र अन्यायका विरुद्ध कांग्रेस स्पष्ट रूपमा उभिनुपर्छ।”
उनले प्रदेश सरकार तथा स्थानीय तहमा सहभागी कांग्रेस संरचनालाई जनमुखी र उत्तरदायी ढंगले काम गर्न निर्देशन दिँदै सेवा प्रवाहमा नयाँ शैली अपनाएर जनविश्वास बढाउनुपर्ने बताए ।




