राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाराको विस्तारित बैठकमा दुई पक्षबीच झडप हुँदा दुई नगरपालिकाका सभापति घाइते भएका छन्। कलैयास्थित करणराज पार्टी प्यालेसमा शनिबार आयोजना गरिएको बैठकमा सांसद र पुराना कार्यकर्ताबीच विवाद हुँदा स्थिति कुटाकुटमा परिणत भएको हो।
झडपमा रास्वपाका महागढीमाई नगर सभापति बिक्रम यादव र सिम्रौनगढ नगर सभापति साहेब अन्सारीसहित तीन जना घाइते भएका छन्। घाइतेहरूको अहिले कलैया प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।



रास्वपा बाराका संस्थापक अध्यक्ष चन्दन स्वर्णकारका अनुसार बैठकमा पार्टीका पुराना र संस्थापक कार्यकर्ताहरूमाथि हातपात भएपछि तनाव सिर्जना भएको थियो।
उपचाररत महागढीमाई नगर सभापति बिक्रम यादवले सांसद अरबिन्द साहले आफ्नो हात समातेर गुण्डाहरू मार्फत कुटपिट गर्न लगाएको आरोप लगाएका छन्।
बैठकमा सहभागी भएका सांसदहरूले बाहिरबाट मानिसहरू ल्याएर पुराना कार्यकर्तामाथि दमन गर्न खोजेको असन्तुष्ट पक्षको दाबी छ।
पार्टीभित्र स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारको टिकट पहिले नै बिक्री गरेको सूचना बाहिरिएपछि पुराना कार्यकर्ताले सो विषयमा स्पष्टीकरण सोध्न खोज्दा विवाद सुरु भएको बताइएको छ।
यसका साथै, संस्थापक जिल्ला अध्यक्ष चन्दन स्वर्णकारको साधारण सदस्यता खारेज गरिएपछि जिल्लाका पुराना पदाधिकारी र सांसदहरूबीच केही समयदेखि सम्बन्ध चिसिएको थियो।
विवाद समाधानका लागि केन्द्रबाट प्रतिनिधि कामनी चौधरीलाई पठाएर विस्तारित बैठक राखिए पनि स्थिति नियन्त्रण बाहिर गएको हो। आक्रोशित कार्यकर्ताहरूले बैठकस्थलमा पार्टी प्रतिनिधिका साथै जिल्लाका चारैजना सांसदहरूमाथि समेत हातपातको प्रयास गरेका थिए।
तनाव बढेपछि सुरक्षाकर्मीले रास्वपा बारा क्षेत्र नम्बर-१ का सांसद गणेश धिमाल-२ का सांसद चन्दन सिंह, ३ का सांसद अरविन्द साह, ४ का सांसद रहबर अन्सारी र केन्द्रीय प्रतिनिधि कामनी चौधरीलाई सुरक्षा घेराभित्र राखेर बाहिर निकालेको थियो।
बैठकमा नयाँ प्रवेश गरेकाहरूले कार्यसमितिलाई कब्जा गर्न खोजेको र वर्षौंदेखि संगठन विस्तारमा लागेका कार्यकर्तालाई पाखा लगाइएको भन्दै संस्थापक पक्ष रुष्ट बनेको छ।
यता, बैठकस्थलबाट बाहिरिएका सांसदहरूले कलैयाको बरेवा दरबार होटलमा पत्रकार सम्मेलन गर्दै घटनाको खण्डन गरेका छन्। सांसदहरू गणेश धिमाल, चन्दन सिंह र अरविन्द साहले विस्तारित बैठकमा कुनै अप्रिय घटना नभएको दाबी गर्दै सञ्चारमाध्यममा आएका समाचारहरूलाई अपवाह भएको बताए।

उनीहरूले आफूहरूमाथि कुटपिट नभएको र बैठक शान्तिपूर्ण रहेको दाबी गरे। -नागरिक




