
जनकपुरधाम - नेपालमा कुष्ठ प्रभावितहरुको अधिकार र भावि रणनीति विषयक लक्षित समूह छलफल कार्यक्रम धनुषाको लक्ष्मीनियाँ गाउँपालिकामा सम्पन्न भएको छ ।नेपाल कानून समाज,आईडिया नेपाल,टीएलएम र लालगढ कुष्ठरोग अस्पताल तथा सेवा केन्द्रको संयुक्त आयोजनामा मंगलबार भएको छलफल कार्यक्रममा कुष्ठ प्रभावितहरुले त्रासमा बाँच्नुपर्ने अवस्थाबाट मुक्त हुनुपर्नेमा जोड दिए ।
लक्ष्मीनियाँ गाउँपालिका २ सिनुरजोडाका किशोरी यादवले कुष्ठ प्रभावितहरुले पनि सम्मानपूर्वक बाँच्न पाउनेपर्नु तर्क गरे । डरको घरमा बस्नुपरेको स्मरण गर्दै किशोरीले अव जनप्रतिनिधिहरुले आफूहरुलाई पनि निर्धक्क भई सम्मानरुपमा बाँच्ने वातावरण बनाइदिनुपर्छ ।धनराज ज्ञवालीको अध्यक्षतामा भएको छलफलमा स्वयम् सहायता समूह मधेश प्रदेशका संयोजक प्रमोद कुमार झाले अपहेलित भएर बाँच्नु परेको अनुभव सुनाउँदै अहिले विस्तारै समाज सचेत हुँदै जाँदा सुधार हुँदै गएको बताए ।
अहिलेपनि कुष्ठ प्रभावित नागरिकलाई अपांगता सम्बन्धि परिचय पत्र दिन अनाकानी गर्दा राज्यको सेवासुविधाबाट बञ्चित हुनुपरेको बताए ।सो अवसरमा लक्ष्मीनियाँ गापा–२ का वडाध्यक्ष लालजी साहले आगामी दिनमा कुष्ठ सम्बन्धी जनचेतनाका लागि बजेट विनियोजन गराउने प्रतिबद्धता जनाए ।
छलफल कार्यक्रममा अधिवक्ता मोहन आचार्यले एक प्रस्तुतिकरण प्रस्तुत गर्दै कुष्ठरोगको अवस्थाबारे प्रकाश पारेका थिए । कार्यक्रममा लक्ष्मीनियाँ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मनोहर यादव, लालगढ कुष्ठरोग अस्पताल तथा सेवा केन्द्रका रमेश चौधरी, आइडिया नेपालका कार्यकारी निर्देशक अमर तिमिल्सिना लगायतले आ आफ्नो धारणा राखेका थिए ।