महोत्तरी - आसन्न छठपर्व नजिकिँदै गएसँगै महोत्तरी जिल्लाका विभिन्न पोखरी तथा खोला किनारामा विशेष प्रकारको सजावट र सिँगारिने काम तीव्र गतिमा भइरहेको छ । छठपर्व नजिकिँदै गएपछि औरहीसहित जिल्लाभरिका पोखरी तथा खोलालाई स्थानीयवासीको सक्रिय सहयोगमा सरसफाइ र आकर्षक झकिझकाउ सजावटका साथ सिँगारिने कार्य भइरहेको हो ।

तराई क्षेत्रमा छठको छुट्टै सांस्कृतिक र धार्मिक महत्व रहँदै आएको छ । यसै सन्दर्भमा महोत्तरी जिल्लाका मटिहानी नगरपालिकास्थित लक्ष्मीनारायण मठको पोखरी, जलेश्वर नगरपालिकाको जलेश्वरनाथ महादेव मन्दिरअगाडिको पोखरी, रामगोपालपुर नगरपालिकाको सौतिनिया पोखरी, औरही नगरपालिकाको भोईलस्थित सोनामाई मन्दिरअगाडिको पोखरी, औरही नगरपालिका–२ स्थित रामजानकी कुटीअगाडिको पोखरी, औरही–१ स्थित महादेव मन्दिरअगाडिको पोखरी, साथै औरही हुँदै बग्ने जङ्गहा खोला, गौशाला नगरपालिकाको पचाईं खोला र मरहा खोलासहितका स्थानमा सरसफाइ र सजावटको कार्य भइरहेको छ ।

छठ मनाउनेको संख्या प्रत्येक वर्ष बढ्दै गएसँगै आवश्यक पूजाका सामग्री किनमेल गर्ने भीड पनि बजारमा देखिन थालेको छ । औरही नगरपालिका–२ स्थित रामजानकी कुटी पोखरी र औरही–१ स्थित महादेव मन्दिरअगाडिको पोखरीमा यस वर्षको छठ पर्वको तयारी आरम्भ भइसकेको छ ।रामजानकी कुटी पोखरी छठ पूजा व्यवस्थापन समितिका कोषाध्यक्ष दिगम्बर चौधरीका अनुसार गत वर्षको तुलनामा यस वर्ष छठ पर्व झन् भव्य रूपमा मनाइनेछ ।

“हामीले यो वर्ष रामजानकी कुटी पोखरीमा छठ पूजाका लागि आकर्षक पण्डाल, झिलिमिली बत्ती र विभिन्न प्रकारका डेकोरेसन तयार गर्दैछौँ,” चौधरीले भने, “यो वर्ष पनि विगतको वर्षझैँ सभ्य र भव्य रूपमा छठ पर्व मनाइनेछ।”उनका अनुसार तिहार सकिएलगत्तै छठको अन्तिम तयारी तीव्र गतिमा अघि बढाइनेछ । रामजानकी कुटी पोखरी र जङ्गहा खोलामा छिमेकी गाउँबाट दर्शनार्थीको भीड लाग्ने भएकाले यस क्षेत्रको रौनकता झन् बढ्ने अपेक्षा गरिएको छ ।

तराई–मधेसका महिलाले छठ पर्व परिवारको सुख, समृद्धि र सन्तानको दीर्घायुको कामना गर्दै मनाउने परम्परा रहेको छ । यस वर्ष छठ पर्वको मुख्य दिन कात्तिक १० गते कात्तिक शुक्ल षष्ठीका दिन परेको छ ।रामजानकी कुटी पोखरीमा दुई दशकभन्दा बढी समयदेखि निरन्तर छठ पर्व मनाइँदै आएको छ । पूजा व्यवस्थापन समितिका अनुसार यस वर्षको छठ सजावटका लागि करिब दुई लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । चौधरीका अनुसार रामजानकी कुटी पोखरीमा हुने सजावट हेर्नका लागि पनि वरपरका बस्ती र गाउँहरूबाट मानिस आउने परम्परा स्थायी रूपमा बसिसकेको छ ।









