महोत्तरी,औरही– औरही नगरपालिकाले आगामी असार महिनाभित्र साक्षर पालिका घोषणा गर्ने लक्ष्यसहित साक्षरता अभियानलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।
नगरपालिकाको दीर्घकालीन साक्षरता अभियान समितिका संयोजक तथा नगरप्रमुख प्रदीप कुमार खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रम श्री प्रसाद सिंह नमूना माध्यमिक विद्यालय, औरहीको सभाहलमा आयोजना गरिएको थियो। कार्यक्रममा सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापक, बालविकास सहजकर्ता, वडा तथा गाउँका अध्यक्ष, वडास्तरीय प्रतिनिधि, विभिन्न शाखाका प्रमुख तथा सामाजिक संघ–संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।




कार्यक्रममा साक्षर पालिका घोषणा सम्बन्धी मापदण्ड, वर्तमान साक्षरता अवस्था, तथ्याङ्क संकलन प्रक्रिया तथा समुदायमा रहेका निरक्षर नागरिकलाई साक्षर बनाउने अभियानबारे विस्तृत जानकारी प्रदान गरिएको थियो। नगरपालिकाले अभियानलाई स्थानीय तहसम्म प्रभावकारी रूपमा विस्तार गर्दै साक्षर पालिका घोषणा अभियान सफल बनाउन सबै निकायबीच समन्वय र सहकार्य सुदृढ गर्ने प्रतिबद्धता जनाएको छ।
शिक्षा शाखा प्रमुख धनबहादुर रायले १५ देखि ६० वर्ष उमेर समूहका करिब ५ हजार ५ जना नागरिक अझै निरक्षर रहेको जानकारी दिनुभयो। उहाँका अनुसार यो संख्या नगरपालिकाको कुल जनसंख्याको करिब ३०.२ प्रतिशत हो। अनौपचारिक शिक्षाले निर्धारण गरेका १२ वटा मापदण्डमध्ये कम्तीमा ६ वटा मापदण्ड पूरा गराउने लक्ष्यसहित अभियान सञ्चालन गरिएको र अभियानलाई प्रभावकारी बनाउन ५७ जना सहजकर्ता परिचालन गरिएको उहाँले बताउनुभयो। उहाँले असार २० गतेभित्र अभियान सम्पन्न गरी असारभित्रै औरही नगरपालिकालाई साक्षर पालिका घोषणा गर्ने लक्ष्य रहेको उल्लेख गर्नुभयो।

कार्यक्रममा बोल्दै श्री सोन्फी दशैँ माध्यमिक विद्यालय, औरही–३ का प्राध्यापक ज्ञानेन्द्र यादवले नेपालमा लामो समयदेखि साक्षरता कार्यक्रम सञ्चालन भए पनि अपेक्षित उपलब्धि हासिल हुन नसकेको बताउनुभयो। उहाँले मधेश प्रदेश तथा महोत्तरी जिल्लाको साक्षरता अवस्थाबारे चर्चा गर्दै तथ्याङ्क संकलन तथा कार्यान्वयनका चुनौतीले अपेक्षित परिणाम प्राप्त हुन नसकेको धारणा राख्नुभयो। साक्षरता अभियानलाई केवल घोषणा प्रक्रियामा सीमित नराखी वास्तविक निरक्षरता उन्मूलनतर्फ केन्द्रित गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।

जनता आधारभूत विद्यालय, फुलबरिया–२ की शिक्षिका इन्दिरा कुमारी महतोले बालविकास सहजकर्तालाई दिइएको जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्दै अभियान सफल बनाउन शिक्षकहरूबीच सहकार्य आवश्यक रहेको बताउनुभयो।
नगर उपप्रमुख रेणु कुमारी झाले सिकाइ प्रक्रियालाई सरल र व्यवहारिक बनाउँदै सामूहिक प्रयासबाट अभियान सफल बनाउन सकिने बताउनुभयो। उहाँले निर्धारित समयसीमाभित्र लक्ष्य हासिल गर्न सबै पक्षलाई सक्रिय रूपमा जुट्न आग्रह गर्नुभयो।
नगरप्रमुख प्रदीप कुमार खड्काले साक्षरता अभियानलाई सफल बनाउँदै तोकिएको समयभित्र औरही नगरपालिकालाई साक्षर पालिका घोषणा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। अभियान सफल बनाउन शिक्षक, सहजकर्ता, स्थानीय निकाय र समुदायबीच प्रभावकारी समन्वय अपरिहार्य रहेको उहाँको भनाइ थियो।

स्थानीय पत्रकार धर्वेन्द्र कुमार यादव ‘यदुवान्शी’ले साक्षरता अभियानलाई औपचारिक घोषणामा मात्र सीमित नराखी वास्तविक निरक्षरता उन्मूलनसँग जोड्नुपर्ने आवश्यकता औंल्याउनुभयो। तथ्याङ्क संकलनलाई यथार्थपरक बनाउन तथा समुदायस्तरमा निरन्तर अनुगमन र सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।

कार्यक्रमका सहभागी वक्ताहरूले शिक्षा नागरिकको आधारभूत अधिकार भएकाले कुनै पनि नागरिक निरक्षर रहन नहुने धारणा व्यक्त गर्दै अभियान सफल बनाउन सबै पक्षको सक्रिय सहभागिता आवश्यक रहेको बताए। नगरपालिकाले वडास्तरदेखि नियमित अनुगमन, अभिलेखीकरण तथा समुदायसँगको समन्वयलाई प्राथमिकता दिने जनाएको छ। साथै, अभियानमा संलग्न सहजकर्ता तथा सरोकारवालालाई आवश्यक तालिम, स्रोतसाधन र प्रोत्साहन उपलब्ध गराइने जानकारी दिइएको छ।

नगरपालिकाले तोकिएको समयसीमाभित्र साक्षर पालिका घोषणा गर्ने लक्ष्य पूरा गर्न सबै सरोकारवाला पक्षको साझा प्रयास अपरिहार्य रहेको स्पष्ट पारेको छ।













