बर्दीबास । जिल्लाका उखु कृषकलाई क्रसिङ सिजन २०८२/८३ को अनुदान भुक्तानी गर्न जिल्ला उखु अनुदान भुक्तानी समितिले कृषि विभागसँग २० करोड सात लाख ५९ हजार रुपियाँ सिफारिस गरेको छ ।समितिले प्रतिक्विन्टल ७० रुपियाँका दरले अनुदान उपलब्ध गराउन उक्त रकम मागेको हो । सहायक प्रमुख जिल्ला अधिकारी तथा जिल्ला उखु अनुदान भुक्तानी समितिका अध्यक्ष सञ्जयकुमार पोखरेलको अध्यक्षतामा बिहीबार जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले अनुदान रकम माग गर्ने निर्णय गरेको हो ।
समितिका अनुसार महोत्तरीको रामनगरस्थित एभरेस्ट सुगर एन्ड केमिकल इन्डस्ट्रिज र गौशाला–१२ स्थित सिद्धिविनायक सुगर मिलले खरिद गरेको उखुका आधारमा अनुदान रकम निर्धारण गरिएको हो । दुवै चिनी उद्योगले समितिसमक्ष बुझाएको विवरण अनुसार एभरेस्ट सुगरले ११ हजार ८१८ कृषकबाट २८ लाख ५३ हजार १७९ क्विन्टल उखु खरिद गरेको छ । त्यस्तै सिद्धिविनायक सुगर मिलले २१४ कृषकबाट १४ हजार ८०८ क्विन्टल उखु खरिद गरेको जनाएको छ । यसरी दुवै उद्योगले कुल २८ लाख ६७ हजार ९८७ क्विन्टल उखु क्रसिङ गरेका छन् ।



यस वर्ष एभरेस्टले दुई लाख ६१ हजार ७३८ क्विन्टल र सिद्धिविनायकले एक हजार १८५ क्विन्टल चिनी उत्पान गरेको जनाएका छन् । कोष तथा लेखा नियन्त्रण कार्यालयका लेखापाल सुमन राउतका अनुसार कृषि विभागबाट अनुदान रकम प्राप्त भएपछि १२ हजार ३२ जना कृषकको बैङ्क खातामार्फत भुक्तानी गरिने छ । सरकारले उखुमा दिँदै आएको प्रतिक्विन्टल ७० रुपियाँ अनुदानलाई घटाएर गत वर्ष ३५ रुपियाँ कायम गरेपछि उखु किसान असन्तुष्ट बनेका थिए ।
अनुदान कटौतीको विरोधमा जिल्लादेखि काठमाडौँसम्म आन्दोलन चर्काएपछि सुशीला कार्की सरकारले पुनः अनुदान दर ७० रुपियाँ कायम गरेको उखु उत्पादक महासङ्घका केन्द्रीय सदस्य महाशङ्कर थिङले बताउनुभयो । थिङका अनुसार जिल्ला अनुदान भुक्तानी समितिले निर्णय गरी माथिल्लो निकायमा सिफारिस पठाइसकेकाले कृषक पुरानै दरमा (७० रुपियाँ) अनुदान पाउनेमा विश्वस्त छन् ।
उखु उत्पादक कृषक सङ्घ महोत्तरीका अध्यक्ष नरेशसिंह कुशवाहाले सरकारले बजार मूल्य र उत्पादन लागतबिचको असन्तुलनलाई वैज्ञानिक रूपमा मूल्याङ्कन गरी दीर्घकालीन समाधान निकाल्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।




