सर्लाही – सर्लाहीको बरहथवा नगरपालिका–१६, बैरहरिया क्षेत्रमा बयलगाडाले किचेर एक बालकको मृत्यु भएको छ ।
स्थानीय खैरु पण्डित कुम्हालले घरबाट खेततर्फ लैजाँदै गरेको बयलगाडाबाट लडेर सोही बयलगाडाले किच्दा कृष्ण कुम्हालका नौ वर्षीय छोरा सुभास कुम्हालको मृत्यु भएको हो ।



घटनापछि गम्भीर घाइते भएका बालकलाई स्थानीय नगर अस्पताल बरहथवामा प्रारम्भिक उपचारपछि थप उपचारका लागि वीरगन्जस्थित न्युरो अस्पताल, पर्सा लगिएको थियो । उपचारका क्रममा शनिबार राति करिब १० बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डीएसपी वेदप्रसाद गौतमले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार बयलगाडा चलाउने खैरु पण्डित कुम्हाल हाल फरार रहेकाले उनको खोजी कार्य जारी रहेको छ ।
मृतक बालकको शव पोस्टमार्टमका लागि वीरगन्जस्थित न्युरो अस्पतालमै राखिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





